उपभोक्ताले खरिद गरी लगेको चामल सडेको पाइएको गुनासो पछि जिल्ला प्रशासन कार्यालयले कात्तिक १ गते चामल नियन्त्रणमा लिएर परीक्षणकालागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर पठाएको छ ।
सौरभ एग्रो प्रालि बाँसगढी–५ बर्दियाबाट उत्पादन गरिएको एसआर टाइगर सिल्की राइस ब्राण्डको चामल घोराही उमनपा–४ स्थित पविना किराना पसलबाट बिक्री बितरण भइरहेको गुनासो पछि १ सय २० किलो चामल जफत गरी परीक्षणका लागि पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जानकारी दिनुभयो ।
उपभोक्ताले खरिद गरी लगेको चामल सडेको पाइएको भन्दै गुनासो गरेपछि पविना किराना पसलमा बिक्री गर्न बाँकी रहेका ६ बोरा चामल खोल्दा सडेको पाइएको घोराही उपमनपा–४ का वडा अध्यक्ष मुनाल घिमिरेले बताउनु भयो ।
सडेको चामल बिक्री बितरण भइरहेको बारे वडाध्यक्ष घिमिरेले जिल्ला प्रशासन कार्यालयमा खबर गरेपछि जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी पुन, घोराही उमनपा उपभोक्ता हित संरक्षण शाखा र तुलसीपुरस्थित खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका खाद्य निरीक्षक राजेश चौधरीको टोलीले चाम जफत गरी परीक्षणका लागि पठाएको हो ।
एसआर टाइगर सिल्की ब्राण्डको चामल जफत गरी तत्काल परीक्षण प्रतिवेदन दिन गुण नियन्त्रण कार्यालयलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
पसल सञ्चालक प्रेमबहादुर चौधरीले घोराहीको सरस्वती राइस मिलबाट ४ सय बोरा चामल खरीद गरेको र बिक्री गरेर सकिनेबेला केही उपभोक्ताहरूले गुनासो गरेको बताउनु भयो ।
चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन गरिए पनि ग्रामिण क्षेत्रका पसलमा भने अनुगमन हुन नसकेको उपभोक्ता तथा घोराही उपमनपा–४ का वडाध्यक्ष मुनाल घिमिरेले बताउनु भयो ।