INSEC Online

📅 २०८३ जेष्ठ २२

आइसीयू सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पतालमा आइसीयू (सघन उपचार कक्ष) सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या भएको छ ।

दक्ष चिकित्सकको अभावमा आइसीयू सेवा सञ्चालन नहुँदा बिरामीले स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनु परेको छ ।

जिल्ला अस्पताल चार शैया आइसीयू र ५० शैया क्षमताको छ । तर आइसीयूका लागि आवश्यक स्वास्थ्य उपकरणहरू भएपनि दक्ष जनशक्ति अभावमा आइसीयू सेवा सञ्चालनमा ल्याउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

Photo 20231017 Bhojhapur

१५ शैया क्षमता भएको जिल्ला अस्पतालाई ०७९ असोज ६ गतेको तत्कालीन प्रदेश १ को मन्त्रिपरिषदले ५० शैयामा स्तरोन्नतिको निर्णय गरेको थियो ।

दक्ष जनशक्ति व्यवस्थापनका लागि कुनै पनि पक्षले आर्थिक सहयोग नगरेपछि जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको आइसीयू सेवा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पतालका प्रमुख डाक्टर शिवजी रिजालले बताउनु भयो ।

जनशक्ति व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न जिल्ला अस्पतालले जिल्लाका स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग आग्रह गरेपनि त्यसतर्फ कसैले चासो नदिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर शिवजी रिजालले बताउनु भयो ।

डाक्टर रिजालले भन्नुभयो, “तयारी अवस्थामा रहेको आइसीयू सेवा सञ्चालनका लागि हामीले जिल्लामा रहेका नौ ओटै स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गर्यौ, तर कतैबाट पनि सहयोग नपाएपछि सेवा सञ्चालन गर्न सकेनौ ।”

२ करोड रुपियाँ लगानी गरेर बनाइएको सघन उपचार कक्ष (आइसीयू) सञ्चालनमा आउन नसक्दा बिरामीहरूले सहज उपचार सेवाबाट वञ्चित हुनु परेको प्रमुख डाक्टर रिजालले बताउनु भयो ।

आर्थिक वर्ष ०७८-०७९ मा कोभिड-१९ सङक्रमण रोकथाम तथा महामारी व्यवस्थापन कार्यक्रममा विनियोजित भएको रकमबाट आवश्यक सामाग्री खरिद गरी आइसीयू कक्ष तयारी अवस्थामा राखिएको भएपनि आर्थिक अवस्थाका कारण दक्ष जनशक्तिको व्यवस्थापन हुन नसक्दा जिल्लावासी आइसीयू सेवा पाउनबाट वञ्चित हुनु परेको हो ।

“दुर्गम जिल्ला त्यसै भोजपुरमा स्वास्थ्य सेवा प्रभावकारी छैन, सञ्चालनमा आउने सेवा पनि जनशक्ति अभावमा चल्न सकेन, यो भन्दा दुर्भाग्य के हुन्छ भोजपुरलाई ।” उद्योग वाणिज्य सङघका अध्यक्ष कर्ण मोक्तानले भन्नु भयो । स्थानीय तहरूले सेवा सञ्चालनमा कुनै चासो देखाएनन्, सङ्घीय, प्रदेश सरकारले समेत जनशक्ति व्यवस्थापनमा कुनै सहयोग गरेका छैनन् ।

सेवा सञ्चालनका लागि नौ जना दक्ष जनशक्तिको आवश्यकता छ । जसमा कन्स्ल्टयाण्ट एनेस्थेसियोलोजिष्ट एक जना, कन्स्ल्टयान्ट इन्टरनल मेडिसिन एक जना, तालिम प्राप्त मेडिकल अधिकृत दुई जना र तालिम प्राप्त नर्सिङ स्टाफ पाँच जना आवश्यक छ ।

जिल्ला अस्पतालमा आइसीयू सेवा सञ्चालनका लागि दक्ष जनशक्ति व्यस्थापनका लागि मासिक तलव भत्तालाई ९ लाख ८० हजार ५ सय २२ रुपियाँ आवश्यक पर्ने देखिन्छ । सो श्रोत जुट्न नसक्दा सेवा चल्न हुन नसकेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले बताउनु भयो  ।

अस्पताललाई सुविधा सम्पन्न बनाउँदै आकस्मिक रूपमा हुने दुर्घटना, सुत्केरीलगायत अन्य जटिल किसिमका बिरामीहरुलाई उपचारमा सहज बनाउने उद्देश्यका साथ जिल्ला अस्पतालमा सघन उपचार कक्ष भेण्टिलेटरसहितको आइसीयू तयारी अवस्थामा छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष कमल थुलुङ राईले आइसीयू सेवा सञ्चालनका लागि पहल गरिए पनि कहीँकतैबाट सहयोग प्राप्त नभएको बताउनु भयो । अध्यक्ष राईले भन्नुभयो, “जिल्ला अस्पतालमा आइसीयू सेवा सञ्चालनका लागि जिल्लाका स्थानीय तहहरूलाई आग्रह गरियो, कुनै पनि स्थानीय सरकारबाट सहयोग मिलेन, यो विषयमा फेरी एक पटक प्रयास गर्ने छौ ।” सङ्घीय र प्रदेश सरकारसँग पनि यस विषयमा समन्वय गरिने छ ।

जिल्ला अस्पताल भौतिक रूपमा सम्पन्न भएपनि आवश्यक जनशक्ति अभावका कारण समय र बढी पैसा खर्च गरेर धरान, विराटनगर, काठमाण्डौँजस्ता सुविधा सम्पन्न अस्पताल जानु पर्ने बाध्यता रहेको भोजपुर नगरपालिका-५ बोखिमका धनबहादुर थापाले बताउनु भयो ।

जिल्लामा उपचार सम्भव नभएपछि रेफर गरेका कति बिरामीले बाटैमा ज्यान गुमाउनु पर्ने बाध्यता छ, थापाले भन्नु भयो ।

जिल्लामा ६६ ओटा स्वास्थ्य चौकी, ११ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन ओटा सहरी स्वास्थ केन्द्र, सात ओटा, सात ओटा सामुदायिक स्वास्थ्य एकाइ  र एक ओटा जिल्ला अस्पताल छन् ।

अन्य

भिडियो