भिमदत्त नगरपालिका–१४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार विषयगत शिक्षक नहुँदा र भवन अभावका कारण पठनपाठन प्रभाकारी हुन नसकेको अभिभावक, शिक्षक र विद्यार्थीहरुले गुनासो गर्नुभएको छ ।
२०५६ सालमा स्थापना भएको शान्ति आधारभूत विद्यालयमा बालविकास कक्षादेखि कक्षा ८ सम्म पढाई हुने गर्दछ । विद्यालयमा स्थायी शिक्षक तीन जना मात्रै रहेका भने दुई जना राहत शिक्षक र दुई जना नीजिस्रोतका शिक्षक कार्यरत रहनु भएको छ । कक्षा ६ देखि ८ कक्षासम्म एक जना शिक्षकको मात्रै दरबन्दी रहेको छ ।
दरबन्दी अनुसारका शिक्षक नहुँदा कक्षा ६ देखि ८ कक्षासम्म आफु एक्लैले अध्यापन गराइरहेको, एउटा शिक्षकले धेरै कक्षा लिनु पर्ने‚ तल्लो तहका शिक्षकले माथिल्लो तहका कक्षा पढाउनु पर्ने र बहुकक्षा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको प्रधानध्यपक विष्टको भनाइ छ । शिक्षक अभावका कारण नियमित मुल्याङ्कन, शैक्षिक क्रियाकलाप, शिक्षण सामाग्री तयारी गर्न चुनौती रहेको प्रधानध्यापक विष्टले गुनासो गर्नु भयो ।
शिक्षक अभावका कारण दुई र तीन कक्षाका विद्यार्थीको एउटा कक्षा र कक्षा चार र पाँचका विद्यार्थीलाई अर्को संयुक्त कक्षामा परिणत गरी पठनपाठन गराउनु पर्ने बाध्यताले विद्यार्थीहरुलाई बुझ्न र शिक्षकलाई बुझाउन निकै कठिन हुनेगरेको शिक्षिका शुशिला रेग्मीले बताउनु भयो ।
संयुक्त कक्षा सञ्चालन गर्दा शिक्षण सिकाई निकै कमजोर हुने गरेको शिक्षक जयराज जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दुबै कक्षालाई आधा–आधा समय दिनु पर्ने हुन्छ । आधा समयमा पढाइएको पाठका सबै विषयबस्तुहरुलाई समेट्न सकिन्न् । यसरी पढाउँदा कोर्स पनि पूरा गर्न सकिँदैन । विधार्थीको राम्ररी मुल्यांङ्कन पनि गर्न सकिदैन् ।’
दिनभरी एक जना शिक्षकले सबै विषयहरु अध्यापन गराउदाँ पढाइमा खासै रुचि नहुने गरेको सात कक्षामा अध्ययनरत विद्यार्थी लोकेन्द्र नेपालीले गुनासो गर्नु भयो ।
सरकारले शिक्षामा लगानी गरेको भन्दै आए पनि शान्ति आधारभूत विद्यालयमा आवश्यक शिक्षक अभाव हुँदा प्रभावकारी शिक्षण तथा सिकाई हुन नसकेको अभिभावक मदन कुवँरको भनाइ छ ।
शिक्षक अभावका कारण विद्यार्थीले सबै ज्ञान पाउन नसकेको र गृहकार्य दिन र गृहकार्य हेर्न समेत समस्या हुने गरको शिक्षिका सुलोचना उपाध्यायले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर बोहराले शिक्षक पदपुर्तिका लागि सरोकारवाला निकायमा पत्राचार गर्दा पनि सुनुवाई हुन नसक्दा पठनपाठन प्रभावकारी हुन नसकेको बताउनु भयो । विद्यालयमा शिक्षक दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालयमा बारम्बार आग्रह गरिए पनि शिक्षा कार्यालयले चासो नदिएको उहाँको भनाइ छ ।
शिक्षक सेवा आयोगले विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नखोेल्दा धेरै जसो विद्यालयमा दरबन्दीअ अनुसारका शिक्षकहरु नभएकोले समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको शिक्षा विकास समन्वय एकाईका सूचना अधिकारी राजेन्द्र भट्टले बताउनु भयो ।