अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र फियान नेपाल लगायतका संघ संस्थाका प्रतिनिधिहरूले मधेस प्रदेशमा कृषकहरूले भोगिरहेको समस्या सम्बोधन गर्नका लागि मधेस प्रदेश सरकारका मुख्य मन्त्री सरोजकुमार यादवलाई ०८० असोज २७ गते ध्यानकार्षण पत्र हस्तान्तरण गरिएको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेलाई पनि असोज २६ गते ध्यानकार्षण पत्र हस्तान्तरण गरिएको छ ।
मधेस प्रदेश खाद्य उत्पादनको दृष्टिकोणले नेपाल कै अन्न भण्डारको रुपमा परिचित प्रदेश हो । तर, हालसालै प्रकाशित नेपाल बहुआयामिक गरिबी सुचकाङ्क प्रतिवेदन सन् ०२३ अनुसार मधेस प्रदेश नेपालकै तेश्रो (२४.२ प्रतिशत ) स्थानमा पर्छ । मधेस प्रदेशमा खाद्य सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिममा रहेका जात–जाति, वर्ग र समुदायहरू विशेषगरी मुसहर, डोम, हल्खोर र खत्वे आदि खाद्यको पहुँचबाट बञ्चित भई चरम भोकमरी र खाद्य असुरक्षाबाट गुज्रिररहेको ध्यानकार्षण पत्रमा उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा कृषी उत्पादनका लागि आवश्यक पर्ने भूमि, मल, बिउ–बिजन, सिंचाई, कृषि प्रविधि तथा प्रविधि विशेषज्ञ आदिको अभावका कारण यस प्रदेशका कृषकहरू समय–समयमा आन्दोलित हुनुपर्ने समस्याको समाधान, पशुपालनको उचित बजार व्यवस्थापन र नील गाई, बँदेल, बाँदर लगायत जंगली जनावरहरूबाट कृषि उपजको सुरक्षाको माग गरिएको छ । खाद्य असुरक्षाका कारण कृषि पेशाबाट कृषकहरू पलायन हुँदै गएको अवस्था र स्थानीय कृषकहरूको खाद्य अधिकार र खाद्य सम्प्रभुता हनन भएका कारण उक्त समस्याको समाधनका लागि पहल गर्न समेत ध्यानकार्षण पत्र मार्फत अधिकारकर्मीहरूले माग गरेका छन् ।
त्यस्तै, हालसालै नेपाल सरकारले जंगली जनावरबाट हुने क्षतिको राहत निर्देशिका ०८० परिमार्जन गरी पारित गरेको कुरा आफैमा स्वागत योग्य भएतापनि कमजोर सुनुवाई, झन्झटिलो राहत प्रक्रिया तथा आवत जावत खर्च नै नउठ्ने गरी प्राप्त हुने क्षतिपूर्ति रकमले कृषकलाई निरुत्साहित बनाएको कुरा समेत ध्यानकार्षण पत्रमा उल्लेख गरिएको छ।
ध्यानकार्षण पत्र ग्रहण गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल सरकार र सम्बन्धित निकायहरूले गम्भीरता पूर्वक समस्या समाधानमा लाग्न आवश्यक रहेको बताउनु भयो । उहाँले तिनै तहका सरकार मार्फत उल्लेखित समस्याहरूको समाधान हुनु पर्ने र विशेष गरी स्थानीय सरकारले प्रदेश र संघीय सरकारको सहकार्य र समन्वयमा समस्या समाधान तर्फ पहलकदमी चाल्नु पर्ने बताउनु भयो ।
