INSEC Online

📅 २०८३ जेष्ठ २२

बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता

१७ वर्षीया बालिकालाई यौन प्रस्ताव राखेको आरोपमा तातोपानी गाउँपालिका–८ निवासी एमाले जिल्ला कमिटि उपाध्यक्ष ४५ वर्षीय सुरत बहादुर शाहीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ ।

बालिकामाथि यौन प्रस्ताव राखेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा असोज २३ गते उजुरी दर्ता गरेका हुन ।
बालिकालाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, प्रलोभनमा पार्ने गरि फोन गरेको अडियो सार्वजनिक भएपछि घटना बाहिरिएको थियो ।

पीडितका बुबाले दिएको जाहेरीका आधारमा असोज २३ गते मुद्दा दर्ता भएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताउनु भयो । ‘पीडित बालिकाका बुबाले जाहेरी दिनु भएको छ,’ उहाँले भन्नुभयो, ‘बालबालिका सम्बन्धि ऐन –२०७५ अनुसार मुद्दा दर्ता भएको छ ।’

सार्वजनिक भएको अडियोमा नेता शाहीले बालिकालाई प्रवेश परिक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै व्यहोरिदिने र बदलामा यौन सम्बन्ध राख्न दिनुपर्ने तथा सम्वेदनशील अङ्गको फोटो पठाउनुपर्ने भनि प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो ।
नातामा ठूलो बुबा पर्ने शाहीले यौन सम्बन्ध राख्न दिनुपर्ने सर्त म्यासेन्जर र फोनमा समेत गर्न थालेपछि अति भएर रेकर्ड गरेको पीडित बालिकाले बताउनु भएको छ ।

सुरुमा मलाई म्यासेज गर्दा हाम्रो गाउँको ठूलो नेताले सम्पर्क गरे । हाम्रो पनि कोही रहेछ भन्ने लाग्यो,’ पीडित बालिकाले भन्नुभयो, ’ठूलो बुबा भनेर आश मानेको त अपराधिक मानसिकता रहेछ । मलाई अत्ति नै भएपछि मुद्दा पक्रियामा जानुपर्ने स्थित आएको हो ।’

काठमाडौंमा ११ कक्षामा अध्ययनरत बालिकालाई नेता शाहीले नर्सिङ पढाइदिने भनी प्रलोभनमा पार्ने प्रयास गरेको पीडित बालिकाको भनाई छ । उहाँले नेता शाहीलाई प्रचलित कानुन अनुसार सजाय दिलाउन न्यायको ढोका ढकढक्याउन पुगेको बताउनु भयो ।
‘म्यासेज र फोनमा यौन प्रस्ताव राखेर तनाव दिन थालेपछि मैले कल रकेर्ड गरेकी हुँ,’ उहाँले भन्नुभयो, ’त्यो रेकर्ड गरेको अडियो र उसले गरेका म्यासेजहरू प्रमाणको रुपमा पेस गरेकी छु ।’

बालिकाका बुबाले बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ को उपदफा (३) खण्ड (ग) बमोजिम जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गरेको बताउनु भयो ।

‘हामी सोझा मान्छे देखेर आफ्नै छोरी समान मेरो छोरी माथि नेता शाहीले यौन अपराध गरे,’ उहाँले भन्नुभयो, ’मेरी छोरीले न्याय पाओस र दोषीलाई सजाय होस भनी जाहेरी दिएको हुँ ।’

उहाँले सोही ऐनको परिच्छेद ९ मा रहेको बालबालिका विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गर्नु भएको छ । खण्ड (ग) अनुसार ’यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने, गरेको खण्डमा दुव्र्यवहार गरेको मानिने’ भनी उल्लेख गरिएको छ ।
ऐनको परिच्छेद ९ को दफा ७२ को उपदफा ३ को खण्ड (ख) मा ’दफा ६६ को उपदफा (२) को खण्ड (छ), (ञ), (ट), (ठ), (ड), (ण) वा (थ) वा उपदफा (३) को खण्ड (क), (ख), (ग), (ङ), (च) वा (ञ) बमोजिमको कुनै कार्य गरेमा ७५ हजार रूपियाँसम्म जरिबाना र तीन वर्षसम्म कैद गरिनेछ’ भनी लेखिएको छ । त्यस्तै ऐनको दफा ७३ मा बाल अदालतले प्रचलित कानून र ऐन बमोजिमको बालबालिका विरुद्धको कसूरको कसूरदारलाई भएको जरिबानाको रकमभन्दा कम नहुने गरी पीडित बालबालिकाको शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारमा पुगेको हानी समेतको विचार गरी मनासिब क्षतिपूर्ति एकमुष्ठ वा आवधिक रूपमा कसूरदारबाट भराइदिने व्यवस्था गरेको छ ।

पीडित बालिकाले ऐनको दफा ७४ को उपदफा (१) मा उल्लेखित दफा ६६ अन्तर्गत प्रचलित कानूनको हदम्याद भित्र जाहेरी लिएर मुद्दा प्रक्रियामा गएको बताउनु भयो ।

नेता शाही यस अघि २०७४ र २०७९ मा तातोपानी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए ।

अन्य

भिडियो