INSEC Online

📅 २०८३ जेष्ठ २१

रेक्चा खानेपानी समस्या समाधानसम्बन्धी संवाद कार्यक्रम सम्पन्न

 पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—५ स्थित रेक्चाको खानेपानी समस्या समाधानसम्बन्धी संवाद कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको  आयोजना र चौकुने गाउँपालिका, जिल्ला समन्वय समिति सुर्खेतको समन्वयमा संवाद कार्यक्रम असोज २२ गते सम्पन्न गरिएको हो ।

संवाद कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेत्का प्रमुख गंगाराम सुनारले रेक्चावासीको शुद्ध खानेपानी पाउने अधिकारलाई सुरक्षित गर्नका लागि सबैले सहयोग र समन्वय गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युतको मात्रै आसा गर्दा काम गर्न ढिलो हुने भएकोले त्यसको बिकल्पमा सौर्य उर्जामा जोड गर्नुपर्ने चौकुने गाउँपालिकालाई सुझाव दिनुभयो ।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक विवशले रेक्चाबासीको पानी पिउन पाउने अधिकारलाई पालिकाले गम्भीर रुपमा लिएको बताउनु भयो । उहाँले पानी लिनका लागि आवश्यक पर्ने विद्युतको विकल्पमा सहयोगी संघ संस्था र कार्यलयसँग साझेदारी गरी सौर्य उर्जाको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गतको खानेपानी निर्देशनालयका निर्देशक श्रीधर भट्टराई रेक्चा खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले पनि आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो । निर्देशक भट्टराईले मन्त्रालयबाट अन्य योजनाहरु भन्दा खानेपानी आयोजनालाई प्राथमिकता दिने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले नागरिकको शुद्ध खानेपानी पाउने अधिकारलाई संविधानले समेत रक्षा गरेकोले  समस्या समाधान तर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताउनुभयो । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले रेक्चबासीको समस्या समाधान गर्न स्थानीयलाई कानुनी सहयोग गरेको भन्दै रेक्चावासीलाई पानी उपलब्ध गराउन स्थानीय, प्रदेश र संघ सरकारले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम हुस्की मगरले खानेपानी समस्या समाधान गर्न सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

रेक्चा खानेपानी आयोजनामा काम गरिरहेका ठेकेदार रविन्द्र शाहीले सजिलो कामहरु सकिएपनि केही अप्ठारा कामहरु बाँकी रहेकोले सरकारी निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।कार्यक्रमको सहजिकरण जागरण एफएम सुर्खेतका स्टेसन म्यानेजर गोविन्द खत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित रहेका स्थानीय जनप्रतिनिधि, रेक्चावासी, प्रध्यानाध्यापक, राजनीतिक दलका प्रतिनिधि लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुले रेक्चा खानेपानीको समस्या समाधान गर्ने तर्फ साझा प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

Photo20231010Surkhet (9)

Photo20231010Surkhet (7)

Photo20231010Surkhet (6)

अन्य

भिडियो