इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले अदालतबाट जन्मकैदको सजाय तोकिएको व्यक्तिलाई राजनीतिक रुपमा संरक्षण गर्दै कैद मिनाह गरेर सरकारले दण्डहीनतालाई पश्रय दिएको बताउनु भएको छ ।
चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल) को कैद सजाय मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै ०८० असोज १७ गतेदेखि माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएकी चेतनकी पत्नी भारती शेर्पाका आफन्तलाई भेटेर अध्यक्ष अर्यालले सो कुरा बताउनु भएको हो ।

इन्सेकका अध्यक्ष डा. अर्यालले इन्सेक सदैव पीडितको न्यायको पक्षमा रहेकाले भारतीको न्यायका लागि राष्ट्रिय अन्तराष्ट्रिय निकायमा उचित रुपमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।
अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक) लगायत मानव अधिकार संस्थाले अनशनस्थल पुगेर न्यायको अभियानमा ऐक्यबद्धता जनाएका छन् । इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालको नेतृत्वको सो टोलीमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) की अध्यक्ष डा. रेणु अधिकारी, अधिकारकर्मी शोभाकर बुढाथोकी, सुशील बिकसँगै इन्सेक केन्द्रीय कार्यालयको एक टोली सहभागी थियो ।
भेटघाटका क्रममा अनशनरत भारती शेर्पाका आफन्त सुरेश जिसीले भारतीको न्यायको लागि सम्बन्धित निकायमा पहल गरिदिन इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालसँग अनुरोध गर्नुभयो । जिसीले भन्नुभयो-‘ जिल्ला अदालतबाट योगराजलाई जन्मकैदको फैसला हुँदा हामीहरुले न्यायको महसुस गरेका थियौँ । तर, सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका कारण हाम्रो घाउमा झन् पीडा थपिएको छ । दिनदहाडै मान्छेको हत्या गर्ने मान्छे देशको अभिभावकबाट आममाफी पाएर खुलेआम बाहिर अबिरमाला लगाएर हिँड्दा हामीले त्रासको वातावरणमा बाँचिरहनुपरेको छ ।’
त्यस्तै भारतीका आफन्तलाई भेट्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले गम्भीर अपराधमा अदालतबाट दोषी ठहर्याएका व्यक्तिलाई सरकारले कैद माफ गर्दै रिहा गर्नु मानव अधिकारको गम्भीर हनन् भएको बताउनु भयो । पराजुलीले घटनाका सम्बन्धमा आयोगले आफ्नो तरिकाले सुक्ष्म ढङ्गले अध्ययन अनुगमन गरिरहेको उल्लेख गर्नुभयो ।
०७२ असार २८ गते नेपालगञ्जमा मारिएका चेतन मानन्धरको हत्या अभियोगमा बाँके जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएका योगराज ढकाललाई मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८० असोज ३ गते संविधान दिवसका अवसरमा कैद कट्टा दिनुभएको थियो ।
