जिल्लामा ०८० असोज १६ गते आएको भूकम्पका कारण विद्यालय भवनहरुमा क्षति पुगेपछि जिल्लाका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
६.३ म्याग्निच्युडको भूकम्पले जिल्लामा जनधनको क्षतिसँगै जिल्लाका १२ ओटै स्थानीय तहका ३२ ओटा विद्यालयमा क्षति पुगेको छ ।
भूकम्पका कारण विद्यालयमा भएको क्षतिले विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिएको छ । शिक्षा समन्वय ्रईकाइको प्रारम्भिक रिपोर्ट अनुसार तल्कोट गाउँपालिकाका चार, जयपृथ्वी नगरपालिकाका ६, थलारा गाउँपालिकाका चार, छबिसपाथिभेरा गाउँपालिकाका दुई, खप्तडछान्ना गाउँपालिकाका चार, बित्थडचिर गाउँपालिकाका दुई, मष्टा गाउँपालिकाका चार र केदारस्युँ गाउँपालिकाका दुई विद्यालय भवनमा पूर्णरूपमा क्षति भएको छ ।
जिल्लाभरीका २ सय भन्दा बढि विद्यालय भवनहरू चर्किएका छन् । केही ठाउँको रिपोर्ट नै प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, बझाङका अनुसार भूकम्पबाट एकको मृत्यु भएको र २० जना घाइते भएका छन् । पाँच जना गम्भीर घाइतेलाई उपचारका लागि धनगढी रेफर गरिएको छ । भूकम्पका कारण ३ सय १५ ओटा नीजि आवास, २१ ओटा सरकारी भवन र ३२ ओटा विद्यालय गरी जम्मा ३ सय ६८ ओटा संरचनाहरू आंशिक तथा पूर्ण रूपमा क्षति भएको छ ।
घाइते हुनेमा प्रायजसो विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी छन् । केही विद्यार्थीको अवस्था निकै दयनीय रहेको छ । जयपृथ्वी नगरपालिका–११ भोपुरमा रहेको सत्यवादी माध्यमिक विद्यालय, भोपुरमा अध्ययनरत १४ वर्षीया प्रमिला जोशीको टाउँको र हातमा ढुङ्गा लागि गम्भीर घाइते हुनुभएको थियो । उहाँको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी पठाइएको छ । यसैगरी जयपृथ्वी नगरपालिका–११ कै रुइनाबगरकी सात वर्षीया बालिका सलिना जोशीको बायाँ खुट्टा भाँचिएकोले उपचार भइरहेको छ । विद्यार्थीहरु विद्यालयमा पढिरहेकै समयमा भूकम्प आएपछि विद्यार्थीहरूको भागदौड मच्चिएसँगे र भवन भत्किदा अन्य विद्यार्थीहरु पनि घाइते भएका थिए ।
पटकपटक आइरहेका भूकम्प तथा पराकम्पले विद्यालयका कच्ची भवन धराप बनाइसकेको सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वी नगरपालिका—११ भोपुरका शिक्षक हितराज जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अब त यस्तो लाग्छ । हाम्रा विद्यालय भवन अब विद्यार्थी मार्ने एम्बुस भइसके । पढ्ने र पढाउनेको ज्यान जोखिममा छ । भूकम्प बाजा बजाएर आउँदैन । केही पुराना भवनमा कसरी अध्यापन गराउन जाने हामी डराएका छौँ । साना बालबालिकाको मनमा कस्तो डर होला ?’ मष्टा गाउँपालिका–४ भातेखोलामा रहेको कुलमष्टजन माविको भवन पनि भत्किएको छ । कुलमष्टजन मावि भातेखोलाका प्रधानाध्यापक मोहन थापाले भन्नु भयो, ‘हाम्रो एक पाँच कोठे भवन त कामै नलाग्ने भयो । त्यहाँ हामीले बालकक्षा र लेखा फाँट सञ्चालन गरिराखेका थियौँ । अर्को आठ कोठे भवन पनि बेस्सरी चर्किएको छ । बेलाबेलामा पराकम्पन गइरहेका छन् । पठनपाठन कसरी सञ्चालन गर्ने चिन्तामा छौँ।’
खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीमा रहेको खप्तड माध्यमिक विद्यालयको हालत झन् खराब छ । भूकम्पले भवनसँगै र आँगन भत्किएपछि विद्यार्थी र शिक्षकहरू भागेर ज्यान जोगाउन सफल भएका थिए । खप्तड माध्यमिक विद्यालय, कालुखेतीका प्रधानाध्यापक धनबहादुर गिरीले भन्नु भयो, ‘हामी त दोहोरो मारमा परेका छौँ । पहिले बाढीले विद्यालयलाई जोखिम बनायो अहिले भूकम्पले । धन्न भागेर ज्यान जोगाउन सफल भयौँ । केही विद्यार्थी सामान्य घाइते समेत भए । भूकम्पले एक भवन र विद्यालय प्राङ्गण भत्कायो । अब हिउँदेयाम सुरु भइसक्यो कसरी पठनपाठन गर्ने ? चिसो र पानी परे त साना बालबालिकालाई समस्या हुने भो ।’
थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाले विद्यालय भवनहरू भूकम्पले चर्काएर एम्बुस जस्तै भएको बताउनु भयो । गाउँपालिकाका चार ओटा विद्यालयमा क्षति भएको विवरण सुनाउँदै भन्नु भयोे, ‘थलारा गाउँपालिका–९ मा बढि क्षति भएको छ । त्यहाँ अवलोकनका लागि गएको थिए । चक्रेश्वर मावि, मालुमेला, पूर्ण चन्द्रोदय मावि, कुलाकाट्ने लगायतका विद्यालयहरूका केही भवन भत्किएका छन्, केही उच्च जोखिममा भएकाले बालबालिका विद्यालय पठाउने वातावरण बनिसकेको छैन् । हामीले आकस्मिक कार्यपालिका बैठक पनि बसाल्यौँ । क्षतिपूर्ति दिन एक्लै गाउँपालिकाले नसक्ने देखिएपछि अन्य निकायबाट सहयोग मागेका छौँ ।’
जयपृथ्वी नगरपालिका–३ पुगरमा रहेको मुड्तिनदेव आधारभूत विद्यालयको भवन पनि भूकम्पले भत्काएको छ । विद्यालयमा रहेका चार कोठा चर्किएर बस्नै नमिल्ने अवस्था सृर्जना भएको शिक्षक दिनराज जोशीले बताउनु भयो । छबिसपाथिभेरा गाउँपालिका–१ मा रहेको अवस्था त झन् यति दर्दनाक छ कि भत्किन बाँकी रहेका भवन पनि पठनपाठन गर्न योग्य छैनन् । विद्यालयको पुराना सबै भवन भत्किँदा विद्यालयका टेबल, कुर्ची र शैक्षिक समाग्री नष्ट भएको छबिसपाथिभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजंगबहादुर सिंहले बताउनु भयो ।
जिल्लाका प्रायःजसो विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएको त्यहाँका शिक्षक र जनप्रतिनिधिहरूको भनाइ छ । विद्यालय भवनहरू पुराना र भूकम्पीय मापदण्ड नअपनाएर बनाएका हुनाले यो अवस्था सिर्जना भएको इञ्जिनियर कमल विकले बताउनु भयो । उहाँले भन्नु भयो, ‘विद्यालय भवनहरू केही पुरानै छन् । केही नयाँ पनि भूकम्पीय प्रविधि नअपनाएर बनेका छन् । सानो रकमले धेरै नतिजा खोज्नु र ठेकेदारको लापरबाहीले यस्तो अवस्था आएको हो । यसले विद्यार्थीको भविष्यमाथि कालो बादल मडारियो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोज १९ गते बझाङ जिल्लाको भूकम्प प्रभावितबस्तीको अवलोकन गरी भूकम्प पीडितहरुको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि तत्काल राहतस्वरूप १५ देखि ५० हजार रुपियाँसम्म राहत खर्च र पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने समाग्रीहरूको व्यवस्थापन गरिने बताउनु भएको भए पनि भूकम्प प्रभावितहरुले राहत रकम पाउन नसकेको अवस्था छ ।