खडक नगरपालिका–११ बनौलीका १७ वर्षीय मो. अजिमुद्दिनको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३४ वर्षीय रामप्रकाश यादव, ३६ वर्षीय डम्बर नारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मदेव साह र ३० वर्षीय विनादेवी यादवविरुद्ध ०८० असोज १५ गते उजुरी दर्ता गरेको छ ।
हत्या गरेको अवस्थामा असोज १३ गते अजिमुद्दिनको शव फेला परेपछि प्रहरीले आरोपितहरूलाई असोज १३ गते गिरफ्तार गरी अनुसन्धान गरेको थियो ।
१४ वर्षीया प्रेमिका भेटने उद्देश्यले खडक नगरपालिका–११ बनौलीमा लागेको कृष्णाष्टमी मेला हेर्न ०८० भदौ २१ गते घरबाट हिडेका अजिमुद्दिन सोही दिनको रातिदेखि बेपत्ता थिए । घर फर्की नआए पछि भदौ २३ गते अजिमुद्दिनका अभिभावकले खोजतलासका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा निवेदन दिएका थिए ।
अजिमुद्दिनलाई कर्तव्य गरी मारी प्लाष्टिकको बोरामा हाली सिमेन्टको पोलमा बाँधी त्यसमाथी ट्याक्टरको फलामको रिमले थिचेर खडक नगरपालिका–११ बनौलीस्थित रामप्रकाश यादवले सञ्चालन गर्दै आएको कृषि फर्मको पोखरीमा लुकाएको अवस्थामा शव फेला परेको थियो ।
शवको पोष्टमार्टम २०८० असोज १४ गते वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको छ ।