विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा पार्किंङ गरी राखेको बा १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा विद्यार्थीहरूले आगजनी गरेका छन् ।
महेन्द्र मोरङ क्याम्पसमा एक प्राध्यापकले मानविकी संकायको स्नातक तहमा अध्ययनरत आफ्नी छोरीलाई पास गराउन उत्तर पुस्तिका नै साटफेर गरेको भन्दै विद्यार्थीहरू परीक्षा नियन्त्रकको गाडीमा आगजनी गरेका हुन् ।
स्नातक तहकी विद्यार्थी सन्ध्या कायस्थको थप कपी निकाली सोही क्याम्पसका प्राध्यापक राजन दत्तकी छोरी आस्था दत्तको कपीमा अट्याच गराएर पास गराएको आरोप लगाउँदै विद्यार्थीहरूले ०८० असोज ३ गते विहान परीक्षा नियन्त्रकको गाडीमा आगो लगाएका हुन् । आगलागीका कारण गाडी पूर्णरूपमा जलेर नष्ट भएको छ ।
सन्ध्याले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षा कपी परीक्षा गार्डको सहयोगमा दत्तकी छोरीको उत्तर पुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको विद्यार्थीहरूको आरोप छ । गार्डले उत्तर पुस्तिका साटिदिएपछि सन्ध्या भने अनुत्तीर्ण भएकी छन् ।
कपि साटफेर गरेको विषयमा क्याम्पस प्रशासनलाई जानकारी गराएको भएपनि पीडितलाई थामथुम पार्दै दुई दिनमा परिणाम निकाल्ने र नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले पुनः परीक्षा लिएको थियो ।
दोस्रो वर्षको नियमित परीक्षाको परिणाम आइसक्दा पनि दुई दिनमा रिजल्ट निकाल्ने भन्दै लिएको पुनःपरीक्षाको रिजल्ट अझै नआएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
०७८ मङ्सिरमा भएको पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षामा ६०००३०८८८ सिम्बल नम्बर भएकी सन्ध्याले चार पेज भएको उत्तर पुस्तिका थप गरेकी थिइन् । तर उनको उत्तर पुस्तिकामा थप उत्तर पुस्तिका गार्डले गाभेनन् । असोज २ गते साँझ डिग्री क्याम्पसमा सन्ध्या कायस्थको रिजल्टको विषयलाई लिइ उक्त क्याम्पसका प्रमुख बाबुराम तिमल्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईलाई विद्यार्थीले अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल बिना निष्कर्ष टुङ्गिएपछि क्याम्पस प्रमुखलाई प्रहरीले उद्दार गरेको थियो ।
परीक्षा नियन्त्रकको गाडीमा आगजनी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भएको छ ।