कोशी प्रदेशमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
कोशी प्रदेशमा कूल जनसङ्ख्याको ४० दशमलव ५ प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको तथ्याङ्कमा देखिन्छ ।
कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेकोमा ४० दशमलव ५ प्रतिशत् अर्थात २० लाख ९ हजार ३ सय ३३ जनाले मात्र स्वास्थ्य बीमा गराउँदा बीमा कार्यक्रम प्रभावकारी नभएको देखिन्छ ।
सरकारले नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत सेवा प्रदान गर्ने उद्देश्य राखेको भएपनि सहज गरी स्वास्थ्य सेवा प्रवाह हुन नसक्दा २९ लाख ५२ हजार ७९ जना नागरिक स्वास्थ्य बीमाबाट कार्यक्रमबाट बाहिर छन् ।
२० लाख बढी जनसङ्ख्याले स्वास्थ्य बीमा गराएको भएपनि ९ लाख ७० हजार ९ सय ३३ जनाले मात्र नियमित सेवा लिइरहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशले जनाएको छ ।
प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापा गरिएको छ । सोखुखुम्बुमा सबै भन्दा कम स्वास्थ्य बिमित रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले बताउनु भयो ।
झापामा सबैभन्दा बढी ६ लाख ३३ हजार ६ सय ५८ जनाले, भोजपुरमा, ३६ हजार ८ सय ८७ जना, धनकुटामा ३४ हजार २ सय जनाले, इलाममा १ लाख ३८ हजार ५ सय ६ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
खोटाङमा ५३ हजार ३ सय ८५ जनाले, मोरङमा ४ लाख ५७ हजार ३ सय ९७ जनाले, पाँचथरमा २५ हजार ७ सय २५ जनाले, संखुवासभामा ३५ हजार १ सय ६६ जनाले, सुनसरीमा ४ लाख ६४ हजार ७ सय ४१ जनाले, ताप्लेजुङमा १३ हजार ७ सय ६० जनाले, तेह्रथुममा १४ हजार १ सय २ जनाले र उदयपुरमा ४९ हजार ७ सय ७३ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्डको अभिलेखमा उल्लेख छ ।
बीमा गरिएकामध्ये अति गरिब बीमितको संख्या २४ हजार २ सय ६०, ज्येष्ठ नागरिक बीमित संख्या १ लाख ९६ हजार ८ सय ३८, एचआइभी संक्रमितको संख्या ३ हजार ४ सय ६१, अति अशक्त अपाङगता भएका ४२ हजार ९ सय १७, कुष्ठरोगी संक्रमित १ हजार ४२ जना रहेका छन् ।
बीमा गराएकामध्ये सेवा लिने बिमितको संख्या ७ लाख ७० हजार ९ सय ३३ जना मात्र छन् ।
प्रदेशमा ७८ ओटा सरकारी अस्पताल, चार ओटा सामुदायिक र २३ निजी अस्पताल गरी १ सय ६ ओटा स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य बीमाका बिमितले सेवा लिदैँ आएका छन् ।
नेपाल सरकारले आम सर्वसाधारणको आधारभूत स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि ०७२ चैत २५ गतेबाट कैलाली जिल्लाबाट औपचारिक रुपमा स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको थियो ।
स्वास्थ्य बिमितहरुले अन्यत्र उपचारका लागि रिफर लिनुपर्ने, लाइनमा बस्नुपर्ने, स्वास्थ्य बीमाको औषधि नपाइने जस्ता कारणले कोशी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितको भनाइ छ ।