काठमाडौँ महानगरपालिका-३२, तिनकुनेस्थित दिव्य सः मिलमा ०८० भदौ २९ गते एकै परिवारका तीन जना सहित चार जनाको धारिलो हतियार प्रहार गरी सामूहिक हत्या भएको छ । मृत्यु हुनेहरूमा दोलखा घर भइ मिलमा काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उहाँकी पत्नी ५२ वर्षीया शुभद्र वाइवा, आमा ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार हत्या भएकाहरूको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको र गहिरो चोट रहेको छ ।
हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले काठमाडौँ महानगरपालिका-३२ बस्दै आएका २८ वर्षीय दीपेन्द्र राईलाई गिरफ्तार समेत गरेको एसपी ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो । उहाँका अनुसार हत्या आशङ्कामा गिरफ्तारीमा परेका राईको कपडा र जुत्तामा रगत लागेको अवस्थामा फेला परेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेर मृतक चारै जनाको शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगेको छ ।
घटनास्थलमा तालिम प्राप्त कुकुर र अनुसन्धानमा पोख्त प्रहरी परिचालन गरेर घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको एसपी ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।