
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बाल सुधार गृहको अवस्था भदौ २७ गते अपरान्हदेखि सामान्य भएको छ ।
स्थानीय प्रशासन र बाल सुधार गृहका प्रदर्शनकारी बालकहरूबीच भदौ २७ गते भएको वार्ता पछि तनावग्रस्त अवस्थामा रहेको बाल सुधार गृहका बालकहरू प्रदर्श तथा ढुङ्गा मुढा गर्न बन्द गरेका छन् । वार्तामा सिडिओ हिरालाल रेग्मीले आफ्नो तहबाट पुरा हुने बालकैदीहरूका सम्पूर्ण मागलाई सम्बेधन गर्ने र आफ्नो तहबाट पुरा हुन नसक्ने मागको लागि सम्बन्धी निकायमा पहल गर्ने प्रतिबद्धता तथा आश्वासन बालकैदीहरूलाई दिनु भयो ।
साथै, अबदेखि प्रत्येक महिना बाल सुधार गृहको अनुगमनमा आफै आउने प्रतिबद्धता समेत रेग्मीले व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, “म अब प्रत्येक महिनामा एक पटक आफै सुधार गृहको अनुगमनमा आउँन्छु, त्यस क्रममा तपाईहरू आफ्नो गुनासो राख्नु होला” ।
वार्ताको क्रममा बाल सुधार गृहका बालकहरूले सुधार गृहका पूर्व चौकीदार (नाइके) गुड्डु यादवलाई पक्राउ गरी कारबाहीको माग गर्नुको साथै बाल सुधार गृहका लागि सरकारले उपलब्ध गराउँदै आएको सुविधाहरू नपाएको, खानाको मात्रा पर्याप्त र गुणस्तरीय नभएको, बासी खाना खुवाउने गरेको, एउटै कोठामा १७/१८ जनालाई कोचेर राखिएको, बसेको कोठा भित्र नै पिसाब गर्न लगाइएको, सुरक्षाका लागि खटिएका प्रहरीले गालीगलौज र दुर्व्यवहार गरेको, बिरामी पर्दा औषधी उपचार पाउन नसकेको, शौचालय र सफा खानेपानीको व्यवस्था नभएकोले यी सबैको व्यवस्थापन गरिदिनुपर्ने र भदौ ४ गते भक्तपुर बाल सुधार गृहबाट ल्याएर राखिएका १८ जना बालकैदीहरूलाई अन्यत्र पठाउन माग समेत गरेको बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफेलेले बताउनु भयो ।
भक्तपुरको बालसुधार गृहबाटबाट ल्याएर वीरगञ्ज बाल सुधार गृहमा राखिएका १८ जना बालकहरूलाई निकालेर जिल्ला प्रहरी कार्यालयमा लगेपछि आन्दोलनरत बालकहरू प्रदर्शन स्थगीत गरी अपरान्ह साढे ४ बजेपछि बालगृह भित्र फर्किएको काफ्लेले बताउनु भयो ।
भक्तपुरको बालसुधार गृहबाटबाट ल्याएर वीरगञ्ज बाल सुधार गृहमा राखिएका १८ जना बालकहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको र पछि सरोकारवाला निकायसँग समन्वय गरेर अरु ठाउँमा पठाउने जिल्ला प्रहरी कार्यालयका एसपी कोमल साहले जानकारी दिनु भयो ।
इन्सेक प्रतिनिधि र पत्रकारहरूको पहलमा दुई पक्षबीच वार्ता भएको थियो । वार्तामा वीरगंज बाल सुधार गृहका प्रदर्शनरत २० जना बालक, पर्साका सिडिओ रेग्मी, जिल्ला प्रहरी कार्यालयका एसपी शाह, सशस्त्र प्रहरी बलका एसपी किशन कर्मचार्य, वीरगंज महानगरपालिका अन्तर्गतको बाल कल्याण गृहकी प्रमुख सावित्री भण्डारी, पत्रकार र मानव अधिकारकर्मीहरूको सहभागीता थियो ।