अज्ञात समूहले असार २६ गते राति त्रियुगा नगरपालिका-४ सालघारीस्थित क्रिमशन बोर्डिङ स्कुलको बसमा आगजानी गरेको छ ।
राति १०ः३० बजेको समयमा उक्त समूहले स्कुलको को.१.ख.५०४० नम्बरको बस स्कुल हाताभित्रै राखिएको ठाउँमा आगजानी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीप्रसाद फागुले बताए ।
बस आगजानी गर्नु अघि उक्त समूहले गेट र भित्र बलिरहेको विजुलीको वल्भ झिकेर अँध्यारो बनाएको स्कुल सञ्चालक सुमन चौधरीले बताए । उनले भने-‘होस्टलमा रहेका बिद्यार्थी पढाइ सकेर सुत्न लाग्दा अचानक बसमा आगलागी भएको देखेपछि हल्लाखल्ला गरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।’
‘कसले र किन आगो लगायो केही थाहा छैन ?’-चौधरीले भने-‘जो भएपनि छानबिन गरी कारबाही गरियोस् ।’ उनले आफूसँगै कसैको रिसिइवी नभएको र पछिल्लो समय कसैले पनि चन्दा नमागेको बताए ।
असार २७ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेको छ । बन्द आह्वान गरिएको अघिल्लो रात नै बसमा आगजानी भएकाले सोही पार्टीका कार्यकर्ताले नै आगजानी गरेको हो भन्ने अवस्था नरहेको इन्स्पेक्टर फागुले बताए । उनले घटनाको छानबिन प्रकृया सुरू गरिएको बताए ।
विद्यालयको बसमा आगो लगाएको विषयमा भने नेकपाका जिल्ला इर्ञ्चाज केदार राईले कुनै जानकारी नभएको बताए ।