कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा मानव अधिकार हनन् हुनुको मुख्य कारण गरिबी रहेकोे बताउनुभएको छ ।
स्वीट्जरल्याण्ड भ्रमण गरी फर्किनुभएका उहाँले भदौ २४ गते प्रदेश सभाको दोस्रो अधिवेशनको ३५ औँ बैठकमा बोल्दै यस्तो बताउनु भएको हो ।
स्वीट्जरल्याण्डको जुरिचमा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा सम्पन्न लगानी सहकार्यको विषयमा कार्यक्रममा सहभागी भई कर्णालीको मानव अधिकार लगायतका विषयमा छलफल भएकाले भ्रमण सोचे भन्दा राम्रो र उत्साहजनक रहेको मुख्यमन्त्री शर्माले बताउनुभयो ।
‘त्यहाँ गएर हामीले यहाँको मानव अधिकार लगायत विकास निर्माणको विषयमा गहन छलफल गरेको छौं । यहाँका नागरिकको समस्याको विषय उठान गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘मानव अधिकारको कुरा गर्दा सबैभन्दा मानव अधिकारको हनन् त गरिबीका कारण भएको रहेछ भन्ने कुरामा स्पष्ट भयौं ।’
मानव अधिकारकै हनन् हुने गरिबीका विरुद्धमा लड्ने खजना चाहिएको विषय कार्यक्रममा राखेको मुख्यमन्त्री शर्माले जानकारी गराउनुभयो ।
मुख्यमन्त्री शर्माले उक्त संस्थाले मानव अधिकार लगायत विकास निर्माणका सन्दर्भमा कर्णाली सरकारसँग सहकार्य गर्न उत्साहित बताउनुभयो ।
स्वीट्जरल्याण्ड भ्रमणको विषयमा भएको छलफलको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्त्रण गरिएको उहाँले बताउनु भयो ।
बहुआयामिक गरिबीको रेखामूनि रहेको प्रदेशमा अधिकार र विकास निर्माणका क्षेत्रमा काम गर्न उक्त संस्था उत्साहित भएको मुख्यमन्त्री शर्माको भनाइ छ ।
