त्रियुगा नगरपालिका-९ का ४६ वर्षीय पति सदाको स्क्रव टाइफसका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।
सदाको स्क्रव टाइफस उपचारका क्रममा भदौ २१ गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
जिल्लामा स्क्रव टाइफसको सङ्क्रमण ०८० भदौको दोस्रो सातादेखि प्रकोपकै रूपमा फैलिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डाक्टर ज्ञानेन्द्र झाले बताउनु भयो ।
जिल्ला अस्पतालका जेनेरल फिजिसिएन डाक्टर राहुल रौनियारले सदामा स्क्रव टाइफसको सङ्क्रमण देखिएको र त्यो सँगै मृगौला र पिसावमा सङ्क्रमणका कारण ज्यान गएको बताउनु भयो ।
डाक्टर रौनियारले भदौको दोस्रो सातादेखि जिल्ला अस्पतालमा स्क्रव टाइफसका बिरामीको सङ्ख्या अत्यधिक बढेको बताउनु भयो ।
जिल्ला अस्पतालमा स्वास्थ्य जाँचपड्तालका लागि आउने गरेका बिरामीमध्ये दैनिक सात, आठ जनामा स्क्रव टाइफसको सङ्क्रमण पुष्टि हुने गरेको जेनेरल फिजिसिएन डाक्टर राहुल रौनियारले बताउनु भयो । अहिले जिल्ला अस्पतालमा १८ जना भन्दा बढी स्क्रव टाइफसका बिरामीलाई भर्ना गरेर उपचार गर्दै आइएको छ ।
भदौ पहिलो सातासम्म दैनिक ४ देखी ५ जनामा स्क्रव टाइफसको सङ्क्रमण देखिने गरेकोमा भदौ २२ गते एकैदिन ११ जनामा स्वक्र टाइफसको सङ्क्रमण पुष्टी भएको अस्पताल प्रशासनले जनाएको छ ।
भाइरल ज्वरोजस्तै टाउको दुख्ने, ज्वरो आउने, हात खुट्टा र शरीर दुख्नेजस्ता लक्ष्ण मिल्ने यो रोगको उपचार गर्न ढिलाभए जोखिम हुने डाक्टर रौनियारको भनाइ छ । ‘स्क्रव टाइफसको सबै लक्षण भाइरल ज्वरोसँग मिल्ने भएपनि यसले अन्य अङ्गहरूमा पनि सङ्क्रमण गर्ने भएकाले निकै जोखिमपूर्ण छ’ डाक्टर रौनियारले भन्नुभयो ‘यसले टाउको, मुटु, मृगौला र अन्य जुनसुकै अङ्गहरूमा हानी गर्छ ।’
डाक्टर रौनियारले स्क्रव टाइफसका बिरामीले समयमै उपचार पाए ३ दिनदेखि ५ दिनभित्र निको हुने बताउनु भयो । भदौ २२ गतेसम्म जिल्ला अस्पतालबाट ६३ जना स्वक्र टाइफसका बिरामी उपचारपछि डिस्चार्ज भएका छन् ।
जिल्ला अस्पतालकी स्टाफ नर्स छवित्रा राईले ०८० साउन सुरूतिर जिल्ला अस्पतालमा चेकजाँचका लागि बिरामीका स्क्रव टाइफस देखा परेको बताउनु भयो । भदौको चौथो सातासम्ममा स्क्रव टाइफसका बिरामी एकै दिन ११ जनासम्ममा पुष्टि भएको छ ।
अस्पतालमा अन्य बिरामीको सङ्ख्या पनि उल्लिखनीय भएकाले बेडको अभावमा जटिल प्रकारका बिरामीलाई भुइँमै राखेर पनि उपचार गराउनु परेको अस्पताल प्रशासन प्रमुख योगेश्वर खनालले बताउनु भयो ।
बेड अभावकै कारण स्क्रव टाइफसका बिरामीहरूको उपचारमा समस्या भएको प्रशासन प्रमुख खनालको भनाइ छ । ५० शैय्या क्षमताको अस्पतालमा डेङ्गी, भाइरल ज्वरो, स्क्रव टाइफसलगायतका बिरामीको चाप छ ।
स्क्रव टाइफस सङ्क्रमणको उपचार र न्यूनीकरणका लागि अस्पतालमा उपलब्ध सिमित जनशक्ति र औषधि उपचार भन्दा बाहेक अन्य स्रोत-साधन नरहेको प्रशासन प्रमुख खनालको भनाइ छ ।
अस्पताल व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरूबाट सहयोगको अपेक्षा राखिएको भएपनि हालसम्म उपलब्ध नभएको खनालले बताउनु भयो ।
स्क्रव टाइफस सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पतालसँग यथेष्ट बजेट र जनशक्ति नभएका कारण प्रदेश र स्थानीय तहकै भर पर्नुपर्ने अवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकमाले बताउनु भयो ।
जिल्लामा स्क्रव टाइफस प्रकोपकै रूपमा फैलिएपनि त्रियुगा नगरपालिकालगायत कुनैपनि स्थानीय तहले स्क्रव टाइफस सङ्क्रमण रोकथाम र नियन्त्रणका योजना तथा कार्यक्रम तय गर्न सकेका छैनन् ।