INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकुरी प्रहारबाट नेपाली कांग्रेसका सहमहामन्त्री यादव घाइते

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व सांसद महेन्द्र यादवमाथि ०८० भदौ २० गते काठमाडौँको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ । भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवलाई नुवाकोटको विदुर नगरपालिका-७ का ४७ वर्षीय श्याम सापकोटाले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।

एसपी ढुङ्गेलका अनुसार यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई घटनास्थलबाटै प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेका सापकोटालाई प्रहरी वृत्त, सिंहदरबारमा राखेर घटनाबारे अनुसन्धान सुरु गरिएको एसपी ढुङ्गेलले इन्सेकलाई बताउनु भयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते हुनुभएका यादवलाई प्रहरीले तत्कालै उद्धार गरेर उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको एसपी ढुङ्गेलले बताउनु भयो ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार उहाँको टाउको र गर्धनमा गम्भीर चोट रहेकाले शल्यक्रिया गरिएको छ । पूर्व सांसद यादवको स्वास्थ्य अवस्था स्थिर रहेको र हाल चिकित्सकको निगरानीमा आइसियूमा राखेर उपचार भइरहेको डा. रिजालले जानकारी दिनुभयो ।

अन्य

भिडियो