
मधेस प्रदेश सभा सदस्य बोदे बरसाइन नगरपालिका–५ का ६४ वर्षीय अनिरुद्धकुमार सिंह यादव भदौ १८ गते गिरफ्तार भएका छन् ।
नेकपा माओवादीका नेता शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहाका ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या आरोपमा यादव गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
सप्तरी जिल्ला अदालतबाट २०६८ चैत १९ गते मुल्तबीमा राखिएको कर्तव्य ज्यान मुद्दाका फरार आरोपी प्रदेश सभा सदस्य यादवलाई गिरफ्तार गरी भदौ १८ गते अदालतमा पेश गरेर हिरासतमा राखिएको छ ।
माओवादी नेता चौधरीको २०६४ असार ९ गते अपहरण पश्चात गोली हानी हत्या गरिएको थियो । शवको पोष्टमार्टम ०६४ असार १० गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो । बोदे बरसाइन नगरपालिका–२ नेङ्गडा बैरिया टोलमा चौधरीको हत्या भएको घटनामा मुल्तबीमा राखिएको मुद्दामा यादवसमेत नौ जना आरोपीतहरू छन् ।
मृतकका दिदी बोदे बरसाइन नगरपालिका–१ धनगढीकी ३६ वर्षीय रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसहित नौ जनामाथि किटानी उजुरी दिनुभएको थियो । प्रहरी कार्यालयमा उजुरी दर्ता भई अदालतमा अभियोगपत्र दायर भए पनि यादव अदालतमा उपस्थित नभएर फरार रहेका थिए भने प्रहरीले समेत गिरफ्तार नगरी फरार सूचीमा राखेको थियो ।
जनता समाजवादी पार्टीका विद्रोह गरी प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका यादवले जसपाका अभिषेक यादवलाई गत मङ्सिर ९ गते २ हजार ६५ मतले पराजित गरेर निर्वाचित हुनुभएको थियो ।