जिल्ला अस्पताल व्यवस्थापन समिति, दार्चुलाले अनाथ, बेसहारा, जनआन्दोलन, जनयुद्धलगायत सरकारबाट घोषित सहिद तथा विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउने भएको छ । जिल्ला अस्पताल व्यवस्थापन समितिको भदौ १२ गते बसेको बैठकले उहाँहरूलाई निःशुल्क उपचार सेवा प्रवहा गर्ने निर्णय गरेको हो ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिपकराज जोशीले जिल्लामा रहेका अनाथ, वेसाहारा बालबालिकालाई परिचय–पत्रको आधारमा जिल्ला अस्पताल, दार्चुलाबाट उपलब्ध हुने सेवा सुबिधा निःशुल्क गर्ने निर्णय गरिएको बताउनु भयो ।
आकस्मिक कक्षमा भर्ना भएका विद्यार्थीलाई परिचय–पत्रको आधारमा टिकट र ल्याव परीक्षण सेवा निःशुल्क गरिने र जनआन्दोलन, जनयुद्धलगायत नेपाल सरकारबाट सहिद घोषणा गरिएका एकाघर परिवार र घाइतेलाई जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको परिचय–पत्रको आधारमा जिल्ला अस्पतालबाट प्रदान हुने फार्मेषीबाहेकका ओपिडि टिकट, स्वास्थ्य परीक्षणलगायतका सेवाहरू निःशुल्क गर्ने निर्णण गरिएको अध्यक्ष जोशीको भनाइ छ ।
विगतमा निरोगीता प्रमाण–पत्रको शुल्क ४ सय रूपियाँ लिईदै आएकोमा भदौ १२ गतेदेखि स्वास्थ्य परीक्षण बाहेकमा १ सय रूपियाँ मात्रै कायम गर्ने निर्णय गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्न सम्बन्धित फाँटहरूलाई जानकारी गराइसकेको जिल्ला अस्पताल, दार्चुलाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुनिता पुजाराले जानकारी दिनु भयो । व्यवस्थापन समितिले गरेका निर्णयका आधारमा परिभाषित व्यक्तिहरूले अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा पाउने उहाँले बताउनु भयो ।
विद्यार्थीले लामो समयदेखि भन्दै आएको माग अहिले अस्पताल व्यवस्थापन समितिले पूरा गरेको विद्यार्थी कृष्णसिह धामीले बताउनुभयो । उहाँले भन्नु भयो, ‘विद्यार्थीले लामो समयदेखि उपचारमा सुविधा पाउनु पर्ने माग उठाउँदै आएका थियौं, अहिले आएर अस्पतालले निर्णय गरेको छ । जुन स्वागत योग्यछ ।’
अस्पतालको स्वास्थ्य सेवा सुधारको लागि निरन्तर खबरदारीपछि अहिले आएर व्यवस्थापन समितिले जनपक्षीय कामको सुरूवात गरेको महाकाली नगरपालिका–३ का स्थानीय महेश भट्टले बताउनु भयो । हामीले अस्पतालबाट पाउने सेवा सुविधा प्रभावकारी र सुपथ हुनुपर्छ भनेर आवाज उठाएका थियौं, उहाँले भन्नु भयो, थोरै भएपनि कामको सुरूवात भएको छ । अझै अस्पतालका अन्य सेवाहरू समेत प्रभावकारी बनाउनु पर्छ ।
नागरिकले निःशुल्क पाउनु पर्ने स्वास्थ्य सेवालाई अझै व्यवस्थित बनाउनु पर्छ । महंगो मूल्यमा उपचार गराउनु पर्ने अवस्थाको अन्त्य गर्न सक्याँै भने मात्रै संविधानप्रदत्त अधिकार कार्यान्वयन हुने भट्टको भनाइ छ ।
अझै अस्पतालका अल्ट्रासाउण्ड सेवा, एक्सरे, ल्याब, लगायतका सेवामा सुधार हुनु पर्ने स्थानीयको माग छ । यसअघि अस्पतालले हिंसापीडित, स्वास्थ्य स्वयंसेविका, ज्येष्ठ नागरिकलाई मात्रै निःशुल्क उपचार सेवा प्रदान गर्दैआएको थियो ।