तीन वर्ष अगाडि हावाहुरीले उडाएको सिगास गाउँपालिका–७ स्थित शिवलिंग आधारभूत विद्यालयको छानो मर्मत नहुँदा उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठन प्रभावित हुने गरेको छ ।
विद्यालय भवनको छानो उडाएको तीन वर्ष भइसक्दा समेत छानो मर्मत नहुँदा पठनपाठनमा समस्या हुने गरेको प्रधानध्यपक नगरबहादुर ऐरले बताउनु भयो । उहाँले भन्नु भयो ‘छानो मर्मत नहुँदा पानी परेको बेला पठनपाठन गर्न निकै अप्ठेरो हुने गरेको छ ।’
कक्षा ८ सम्मको पढाई हुने यस विद्यालयमा अहिले चार कोठाको एक मात्रै भवन रहेको उहाँको भनाइ छ ।
यहाँका बालबालिकाको समस्याप्रति सरकार जिम्मेवार नभएको स्थानीय अभिभावक सुर्यबहादुर बोहराले बताउनु भयो । उहाँले भन्नु भयो– ‘यति समयसम्म पनि सम्बन्धित निकायले चासो नदिनु गम्भीर विषय हो । बालबालिकाले राम्रोसँग पठनपाठन गर्न पाएका छैनन् । जिर्ण भवनबाटै विद्यालयले सेवा दिइरहेको छ । तर, बिद्यार्थीको ज्यान जोखीममा छ ।’
चर कोठाको भवन मध्ये एक कोठामा विद्यालयको कार्यालय, एक कोठामा स्टोर र दुई ओटा कोठामा मात्रै विद्यार्थीहरु कोचिएर बस्न बाध्य छन् । विद्यालय भवन मर्मत नहुँदा बालबालिकाहरुलाई पठनपाठनका लागि निकै समस्या भएको छ ।
यस बिषयमा गाउँपालिकाको ध्यानाकर्षण गराएको भए पनि भवन मर्मत हुन नसकेको वडाध्यक्ष कर्णबहादुर साउदले बताउनु भयो । उहाँले भन्नु भयो– ‘ गत आर्थिक वर्षमा समेत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यो विद्यालयलाई पहिलो प्रथमिकतामा राखेर सिफारिस गरिएको हो । तर, विद्यालय टाँढा भएको र निर्माण खर्च बढी लाग्ने भएकाले यहाँ बजेट परेन् ।’ स्थानीय, प्रदेश र संघीय सरकारलाई विद्यालय भवन निर्माणका लागि माग गरिएको भए पनि कुनै निकायले चासो नदिएको वडा अध्यक्ष साउदले बताउनु भयो ।