राष्ट्रिय मानव अधिकार आयोगले विगत लामो समयदेखि माइतीघर मण्डलामा विभिन्न माग राखेर अनशन र धर्नामा बसेकाहरूको मानव अधिकारको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले ०८० साउन ३१ गते जारी गरेको विज्ञप्तिमा दोषीलाई कानुनी कारबाहीको माग राखी माइतीघर मण्डलामा निरन्तर अनशनमा रहेका व्यक्तिहरूको अवस्थाप्रति आयोगले निरन्तर अनुगमन गरिरहेको उल्लेख छ ।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘धनुषाकी आरती साहको मृत्युको घटनाका दोषीलाई शीघ्र कारबाही हुनुपर्ने माग राखी करिब दुई महिनादेखि मृतक साहका आफन्तहरू र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरती रावल अनशन बसिरहेको, वर्षात्को समयमा निरन्तर अनशनमा बसेका कारण व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ । अनशनरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे छ । दोषीलाई कानुनी कारबाहीको मागको विषय न्याय र मानव अधिकारसँग प्रत्यक्ष सरोकारको विषय हो ।’
आयोगले निरन्तर अनशनका कारण व्यक्तिको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न र दुवै पक्षको मागको न्यायोचित सम्बोधन गरी अनशनरत व्यक्तिहरूको मानव अधिकारको रक्षाका लागि सरकारलाई अनुरोध गरेको छ ।