राष्ट्रिय मानव अधिकार आयोगले इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि एवम् पत्रकार मनोहर पोखरेलमाथि ०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा कुटपिट तथा दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता टिकाराम पोखरेलद्वारा ०८० साउन ३० गते जारी विज्ञप्तिमा सेवाग्राहीको काम विशेषले प्रहरी कार्यालयमा गएका इन्सेक प्रतिनिधि पोखरेलमाथि प्रहरीद्वारा नै कुटपिट भएको घटनामा भत्सर्ना गर्दै उक्त कुटपिट र दुर्व्यवहारमा संलग्नलाई कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।
मानव अधिकार रक्षक तथा पत्रकार पोखरेलमाथि भएको उक्त घटनालाई लिएर बिगत केही दिनदेखि सप्तरीका पत्रकारहरू आन्दोलित रहेका छन् ।
विज्ञप्ति मार्फत राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको मानव अधिकार रक्षकसम्बन्धी मार्ग निर्देशिका २०६९, गृह मन्त्रालयले जारी गरेको मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणसम्बन्धी आदेश २०७७, मानव अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र १९९८ का विभिन्न प्रावधानमा मानव अधिकार रक्षकहरूको संरक्षण र सुरक्षा राज्यले गर्नु पर्ने, मानव अधिकार हननका विषयमा राज्यका निकाय र पदाधिकारीहरूले सूचना तथा जानकारी दिनुपर्ने, जानकारी लिने क्रममा हुने आक्रमणबाट शारीरिक, मानसिक वा आर्थिक क्षतिलाई रोक्न राज्यका सुरक्षा निकायबाट विशेष सतर्कता अपनाइने र क्षति पुर्याउने व्यक्ति तथा पदाधिकारीहरूविरूद्ध कानुन बमोजिम कारबाही हुने कुरालाई स्मरण गराएको छ ।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कानुन र घोषणापत्रमा अनेकन व्यवस्थाका बाबजुद नेपालमा मानव अधिकार रक्षकहरूले सुरक्षित र भयरहित वातावरणमा कार्य गर्न पाएका छैनन् । मानव अधिकार रक्षक तथा पत्रकार मनोहर पोखरेलमाथि भएको घटनामा संलग्नलाई निष्पक्ष तथा प्रभावकारी अनुसन्धानमार्फत कारबाही गर्न र अधिकारकर्मीको सुरक्षामा ध्यान दिन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’