बोदे बर्साइन नपा-६ काचनस्थित ग्राम डिहवार थान मन्दिरमा पूजा गर्न गएका सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी ३५ वर्षीया पत्नी दुखनीदेवी दास तत्मालाई गाउँलेहरूले कुटपिट गरेको भन्दै पीडितले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
तल्लो जातको भएर मन्दिरमा पूजा गर्न खोजेको भन्दै सोही गाउँका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहले असार १३ गते साँझ मन्दिर परिसरमा कुटपिट गरेको पीडितले बताए ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका लिलाधरको कुमको हड्डी भाँचिएको छ भने उनकी पत्नी दुखनीको शरीरमा चोटपटक लागेको छ ।
नुहाइधुवाई मन्दिर पुगेका पीडितहरूले लगाएको चप्पल बाहिर फुकालेर पोखरीमा हातखुट्टा धोइपखाली गरी पूजा गर्न मन्दिरभित्र पस्न खोजिरहेका बेला ‘तँ तल्लो जात मन्दिरभित्र पस्न खोज्ने’ भनेर आरोपितहरूले रोकेर कुटपिट गर्दै पुजाको समान समेत फालिदिएको पीडितले बताए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले घाइतेको घाउँजाँच गरी अनुसन्धान प्रकृया थालेको बताए ।