INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल नागरिक उड्यन प्राधिकरणले हवाई उडानमा रोक लगाएपछि हुम्लामा खाद्यान्न अभाव

नेपाल नागरिक उड्यन प्राधिकरणले गत दुई हप्तादेखि देशकाे एउटा साइडबाट मात्रै हवाई उडान गर्ने विमान स्थलका लागि दिउसो साढे १२ बजेदेखि पछि हवाई उडानमा रोक लगाएपछि जिल्लामा खाद्यान्न ढुवानीमा समस्या भएको छ । ढुवानीमा समस्या भएपछि खाद्यान्न अभाव भएको हो ।

जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको सर्केगाड गाउँपालिका–४ को दुल्लु कुनासम्म आएको खाद्यान्न समेत ढुवानीमा प्रभाव परेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका कार्यालय प्रमुख कृष्ण प्रसाद अधिकारीले बताउनु भयो ।

सिमकोट शाखाका लागि सर्केगाडमा ढुवानी भएको १ हजार ५ सय क्वीन्टल खाद्यान्न हाल दुल्लु कुनामे थन्कीएको छ । साढे १२ वजेदेखि कुनै पनि हवाई उडानको अनुमति नभएपछि सदरमुकाम सिमकोटबाट उडान भर्दै आएका दुईवटा हेलिकप्टर विमान स्थलमै रोकिएपछि खाद्यान्न थन्कीएको हो ।

सो ठाउँमा यतिखेर ९ सय क्विन्टल जिरा स्टिम र ६ सय क्विन्टल सोना मन्सुली चामल थन्कीएको रोकिएको छ । माउण्टेन र फिस्टेल हेलिकप्टरले दैनिकदिन कम्तीमा पनि २५ पटक भन्दा बढि ढुवानी गर्ने गरेका थिए । तर यतिबेला एउटाले दुई पटक भन्दा बढी खाद्यान्न ढुवानी गर्न नसकेको प्रमुख अधिकारीको भनाइ रहेको छ । हेलिकप्टरले एक पटकमा ६ क्विन्टल खाद्यान्न ढुवानी गर्दै आएको छ ।

बिहानको समयमा मौषम खराब हुने र साढे १२ बजेपछि मौषम खुले पनि उडान अनुमति बन्द हुने भएका कारण हुम्लाका स्थानीय नागरिक प्रत्यक्ष रुपमा मारमा परेका छन् । जसका कारण भदौ १ गतेदेखि विक्रि वितरण हुने भनिएको खाद्यान्न समेत स्थगित भएको छ । सममै खाद्यान्न ढुवानी नभएकै कारण स्थानीय नागरिक खाद्यान्न पाउनबाट बञ्चित हुने भएको स्थानीय सरज कुमार शाहीले गुनासो गर्नु भयो ।

प्राधिकरणले गरेको निर्णयले हुम्लाको सदरमुकाम सिमकोटमा समेत दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । भएको सामग्रिको पनि दोब्बर मुल्यमा विक्रि हुने गरेको छ । उक्त सामग्रिको मुल्य दोव्बर हुँदा यहाँका उपभोक्ता समेत ठगिदै गएको र समयै उपलव्ध नहुँदा स्थानीय उपभोक्ता मारमा परेका छौँ स्थानीय शाहीले गुनासो गर्नु भयो ।

यसै गरी जिल्ला बाहिर झर्ने र आउने यात्रु समेत प्रभावित हुदै गएका छन् । गाउँबाट आएको एक हप्ता भन्दा बढि भइ सक्दा पनि यात्रुले सहजै रुपमा जिल्ला बाहिर झर्न पाएका छैनन् । हिमाली जिल्ला हुम्ला भौगालिक हिसावले विकट मानिदै आएको छ । यहाँ नत राष्ट्रिय सडक सञ्जालले छोएको छ नत समयमै हवाई उडानको अनुमति छ । जसका कारण हुम्लाका बिरामीहरु पनि सुविधा सम्पन्न अस्पताल नपुग्दै ज्यान गुमाउनु पर्ने बाध्यता छ । सो विषयमा हालसम्म पनि कोही कसैले सुनुवाइ नगरेको स्थानीयले गुनासो गरेका छन् ।

अन्य

भिडियो