मकवानपुर क्रिकेट सङ्घको जिल्ला अधिवेशनको लागि हेटौँडा आउनुभएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि ०८० साउन २७ गते दुई जना अपरिचित व्यक्तिले मोविल छ्यापेर दुर्व्यवहार गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका-४, हुप्रचौरस्थित एक होटेलमा खाना खाइरहेको बेलामा पाठकमाथि स्कुटरमा आएका दुई जनाले मोविल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
‘खाना खाइरहेको बेलामा आएका दुई जनाले मोविल छ्यापेर भागेका छन्’, पाठकले भन्नुभयो । केही मोविल पाठकको कपडामा समेत लागेको छ ।
घटनापछि पीडित पाठकले साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । मोविल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको र प्रहरीले फुटेजको आधारमा उनिहरूको खोजी गरिरहेको डिएसपी कार्कीले बताउनु भयो ।