पत्रकारमाथि श्रृंखलावद्ध आक्रमण गर्दै आएको सप्तरी प्रहरीले साउन २७ गते मेमो खबर अनलाइनका सम्पादक चन्दन यादवमाथि दुर्व्यवहार गरेका छन् ।
राजविराज नगरपालिकास्थित कुनौली–हनुमाननगर छुट्टिने सडकमा रहेको प्रहरी बिटको तस्विर खिचेपछि बिटमा रहेका प्रहरी अर्जुन कुमार यादवले फोटो डिलिट गर्न भन्दै मोबाइल खोस्ने प्रयास गरेको पत्रकार यादवले बताउनु भयो ।
यो सूचना पाएलगत्तै भेला भएका पत्रकारहरूले उक्त कार्यको प्रतिकार्य गर्दै फोटो डिलिट नगर्ने अडान राख्दै मोबाइल फिर्ता गराएका छन् । प्रेसलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल रहेको भन्दै पत्रकारहरूले समाचार प्रयोजनका लागि सार्वजनिक स्थलमा फोटो खिच्न कसैले रोक्न नहुने स्पष्ट पारे ।

हालै मात्र राजविराज नगरपालिका–५ की रेखादेबी यादवको सौजन्यमा स्थापना गरिएको प्रहरी बिटबारे रेखाले जानकारी दिएपछि पत्रकार यादवले समाचार प्रयोजनका लागि फोटो खिचेको बताउनु भयो ।
पत्रकारहरूलाई निर्वाध रुपमा फोटो खिच्न रोक लगाएको विरोधमा पत्रकारहरूले नाराबाजी गरेपछि जिल्ला प्रहरी कार्यालयबाट आएका इन्स्पेक्टर राजिब गिरीले गल्ती स्विकार गरे । प्रेस स्वतन्त्रता हनन् हुने गरी जिल्ला प्रशासन कार्यालयले साउन २४ गते जारी गरेको सूचना र जिल्ला प्रहरी कार्यालयमा साउन १५ गते पत्रकार एवम् इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलमाथि भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासंघ सप्तरी ४ दिनदेखि सडकमा आन्दोलनरत छ ।