काठमाडौँ महानगरपालिका-१७, क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी सङ्घ र नेकपा एमाले समर्थिक अनेरास्ववियुबीच ०८० साउन २५ गते झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा परी घाइते हुनेहरूमा नेवि सङ्घका क्याम्पस सभापति २५ वर्षीय सन्तोष श्रेष्ठ र नेवि सङ्घकै सदस्य २५ वर्षीय विक्रम लामा तामाङ रहेका छन् ।
प्रहरी वृत्त, सोह्रखुट्टेका डिएसपी गणेश बहादुर बमका अनुसार अनेरास्ववियुका कार्यकर्ताको कुटपिटबाट नेवि सङ्घका क्याम्पस सभापति श्रेष्ठको टाउकोमा चोट रहेको र नेवि सङ्घकै सदस्य लामाको कान चुँडिएको छ । घाइतेहरूको महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको नृत्य कार्यक्रमलाई लिएर स्ववियुभित्रकै नेवि सङ्घ र अनेरास्ववियुका सदस्यबीच विवाद भएपछि झडप भएको डिएसपी बमले बताउनु भयो । क्याम्पसमा स्ववियुको अध्यक्ष नेवि सङ्घ पक्षका नविन पाण्डे र सचिव अनेरास्ववियु पक्षका निराजन कुमार शाही रहेका छन् ।
डिएसपी बमका अनुसार नेवि सङ्घ पक्षबाट निर्वाचित अध्यक्षले नृत्य प्रतियोगिता आयोजना गर्ने र अनेरास्ववियु पक्षका सचिवले नृत्य कार्यक्रम नगर्ने भन्ने विषयलाई लिएर घटना भएपछि झडप भएको हो ।