INSEC Online

📅 २०८३ जेष्ठ २२

खानेपानी नआएको भन्दै उपभोक्ताद्वारा तालाबन्दी

इलाम नगरपालिका-६ पानीट्याङ्की स्थित इलाम बजार साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा उपभोक्ताले तालावन्दी गरेका छन् ।

Photo 20230708 Ilam (1)

इलाम बजार साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको लापरवाहीका कारण नौ दिनयता पानी नआएको भन्दै साउन २२ गतेदेखि उपभोक्ताले ताला लगाएका हुन् ।

‘आउँदा १५ दिन नै आउँछ, नआउँदा १५ दिनसम्म आउँदैन । पानी खान पाइएन, त्यसैले बाध्य भएर ताला लगाउनु पर्यो, सोही संस्थाकी उपभोक्ता मीठु अधिकारीले भन्नु भयो ।

‘पानी नआएपछि आकाशको पानी बलेँसीमा थापेर खान इलाम नगरपालिका-२ का स्थानीय बाध्य भएका छन् ।

पहिले पनि चार, पाँच, दिनमा पानी आउँथ्यो, अहिले नौ दिन भयो पानी आएन । एउटै टोलमा पनि बाटोमुनि पानी आउँछ बाटोमाथि पानी आउँदैन ।’ अधिकारीले भन्नु भयो ।

खानेपानीको विल तिर्न एक दिन ढिलो हुँदा जरिवाना तिर्नुपर्छ तर नौ दिनसम्म पानी नआउँदा पनि संस्थाले कुनै चासो नदिएको पीडित उपभोक्ताहरूको आरोप छ ।

‘आकाशको पानी आउँदा घरको छानाबाट खसेको पानी थापेर खाँदै गरेका छौ ।’ स्थानीय विक्रम पाण्डेले भन्नु भयो, ‘आकाशको पानी पनि सधैँ आउँदैन । धारामा त झनै आउँदै आउँदैन एक दिन थापेको पानीले कति हुनु र ? पानी नआए पनि नगरपालिका पैसा उठाउन चाहिँ समयमै आउँछ ।’

पानी नआएको विषयमा पटकपटक संस्थासँग समस्या राख्दा पनि समाधान नभएपछि आन्दोलन गर्न बाध्य भएको उपभोक्ताको भनाइ छ ।

एसियाली विकास बैङ्क एडीबीको आर्थिक सहयोगमा ५७ करोड ९५ लाख ७ हजार ४ सय ४७ रुपियाँमा निर्माण गरिएको आयोजना निर्माणमा लापरबाहीका कारण खानेपानी नआएपछि बाध्य भएर ताला लगाएको स्थानीयको भनाइ छ ।

खानेपानी आयोजना निर्माण हुने भएपछि खानेपानी ल्याउनका लागि शुरूमा नै प्रति घरधुरी १५ हजार २ सय रुपियाँका दरले रकम उठाए पनि आयोजना निर्माणमा लापरबाहीका कारण जनताले उपभोक्ताले दुख पाइरहेका छन् ।

साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दुकपुर गाउँपालिकाको गीताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवा खोलाबाट प्रति सेकेण्ट १०-१० तथा सुम्बेकको भाँडी खोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्ने गरेको छ ।

इलाम सहरी खानेपानी संस्थाका अध्यक्ष एवम् इलाम नगरपालिकाका मेयर केदार थापाले समस्या ठूलो नभएको बताउनु भएको छ । सडक डिविजन कार्यालयले सडक निर्माणको क्रममा गएको असार महिनामा खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि बनाउन आग्रह गर्दा आलटाल गरिरहेकाले समस्या भएको बताउनु भयो ।

केचना कन्चनजङ्गा सडक योजना निर्माणको क्रममा भएको असरले केही घरपरिवारमा पानी सटेज मात्र भएको र चाँडै समस्या समाधान गरिने मेयर थापाको भनाइ छ ।

सो आयोजनाबाट इलाम बजारभरिका उपभोक्ताले पानी पिउने गरेका छन् ।

नेपालको संविधान २०७२ ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई व्याख्या एवम् व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ ।

Photo 20230708 Ilam (2)

अन्य

भिडियो