INSEC Online

📅 २०८३ जेष्ठ २१

औषधिको ठेक्कामा ढिलाई हुँदा अस्पतालका बिरामीहरूलाई औषधि वितरणमा समस्या

चौतारा अस्पतालको लागि आवश्यक पर्ने औषधिको ठेक्कामा ढिलाई हुँदा बिरामीहरूको लागि औषधि वितरणमा समस्या भएको छ ।

स्वास्थ्यको अधिकारको बारे नेपालको संविधान २०७२ को प्रस्तावनामा नै उल्लेख गरिएको छ, तर अस्पतालमा औषधिको ठेक्कामा ढिलाई हुँदा बिरामीहरूलाई औषधि वितरणमा समस्या भएको हो ।

चालु आर्थिक वर्षको बजेट बागमती प्रदेश सरकारबाट आउन ढिलाई हुँदा औषधि खरिदको लागि ठेक्का अन्यौलमा परेको चौतारा अस्पतालका सूचना अधिकारी चुडामणी पुरीले बताउनु भयो ।

अघिल्लो आर्थिक वर्षको ठेक्काबाट खरिद गरिएको औषधि सकिएकोले अस्पतालमा अहिले बिरामीहरूलाई वितरण गर्ने औषधि सकिएको सूचना अधिकारी पुरीले जानकारी दिनुभयो ।

ज्वरो आएर उपचारको लागि चौतारा अस्पताल आउनुभएका चौतारा सागाचोकगढी नगरपालिका-६, पिपलडाँडाकी अनुषा सापकोटाले अस्पतालबाट निःशुल्क पाउनुपर्ने औषधि नपाएको गुनासो गर्नुभयो । त्यसैगरी छात्ति दुख्ने र दम बढेर अस्पताल गएका चौतारा सागाचोकगढी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष डम्बरबहादुर तामाङले पनि चौतारा अस्पतालबाट औषधि नपाएपछि उपचारको लागि काठमाडौँ जानुपरेको बताउनु भयो ।

चौतारा अस्पतालबाट सरकारले तोकेको ९८ प्रकारका औषधिहरू वितरण गरिँदै आएको थियो । तर अहिले वितरण गरिँदै आएका ती औषधिहरू सकिएर बिरामीहरूलाई वितरण गर्न समस्या परेको चौतारा अस्पतालका प्रमुख डा. त्रिभुवन झाले जानकारी दिनुभयो ।

अन्य

भिडियो