INSEC Online

📅 २०८३ जेष्ठ २१

बोक्सी घटनाको उजुरी लिएपनि उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

359775665_1020419565653193_4777811815673960230_n
पिपरा गाउँपालिका—३ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई ३५ वर्षीय पति विनोद कुमार दास लगायत परिवारका सदस्यहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै झुक्याएर सम्बन्ध विच्छेदको कागजमा सही छाप गराएको भन्दै पीडितले साउन १९ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले लिएपनि दर्ता गर्न नमानेको पीडितको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले पीडित काजल कुमारी देवीले दिएको उजुरी पढेर इन्स्पेक्टर सरोज रायलाई उजुरी दर्ता गर्न भनि बाहिर निस्केका थिए । इन्स्पेक्टर रायले उजुरीलाई फाइलिंग गरेर डिएसपी गिरी कार्यालय बाहिर गएकोले उहाँले उजुरीमा तोक नलगाएसम्म उजुरी दर्ता गर्न नमिल्ने बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले उजुरी दर्ता गरी घटनाको अनुसन्धान कार्य अगाडि बढाउन इन्स्पेक्टर रायलाई आग्रह गनु भएको थियो ।

इन्स्पेक्टर राय कार्यालय भित्र जिम गरिरहेका डिएसपी गिरीलाई सो जानकारी गराएपछि बाहिर निस्केर डिएसपी गिरीले जिल्ला प्रहरी कार्यालय परिसर भित्रै मधेस प्रदेश संयोजक पासवानलाई “तपाइ के बोल्नु भएको ? उजुरी आज दर्ता हुँदैन । राष्ट्रिय सवाल भएकोले उजुरीका सम्बन्धमा डिआइजीलाई जाहेर गर्नु पर्छ । माथिल्लो निकायमा जाहेर गर्नु पर्छ । उजुरी दर्ता गर्ने प्रक्रिया हुन्छ । साउन २१ गते मात्र उजुरी दर्ता गर्ने हो । मेरो पनि समस्या बुझिदिनु ।” भनेर उजुरी दर्ता नगरेपछि पीडित, पीडितलाई सहयोग गर्न गएका अधिकारीर्मीहरू र कानून व्यवसायी प्रहरी कार्यालयबाट बाहिर निस्केर गएका थिए ।

साउन १८ गते इन्सेक मधेस प्रदेश संयोजक पासवानले डिएसपी गिरीसँग घटनाको बारेमा जानकारी लिने क्रममा पीडितले उजुरी दिए तत्काल उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताएको तर आज पीडितले उजुरी दर्ता गर्न जाँदा उजुरी दर्ता नगरिनु दुःखद भएको पासवानले बताउनु भयो । पीडितले बोक्सीको आरोपमा पति विनोद दास र सौता शिला देवी दास विरुद्ध उजुरी दिएको छ ।

विगत केहि वर्षदेखि बोक्सीको आरोपमा कुटपिट गर्दै आएकोमा २०८० असार महिनाको पहिलो हप्ता धनुषा जिल्लाको मुखियापट्टी मुसहरनीयाँ गाउँपालिका—४ स्थित फेछा गाउँमा हनुमानको मन्दिरमा एकजना धामीकोमा लगी भुत प्रेत हटाउन १० दिन राखेको पीडितले बताउनु भयो । पति, सौता र सासूले १० दिन सम्म सो ठाउँमा रोखेको र सो अवधिमा दुई ओटा परेवाको बली र एक दिन कुभिण्डोको बली दिन लगाएको पीडितको भनाइ छ । पीडितका अनुसार धामीले यसको बोक्सी मैले ठिक गरेको भनेपछि आरोपितहरूले यो बोक्सी नै हो प्रमाणित भयो अब यसलाई घरमा लगेर ठिक पार्छु भनि घरमा ल्याएका थिए ।

पछिल्लो समय पति विनोद र सौता शिला देवी दासले ०८० असार ३१ गते दिउँसो र राती बोक्सीको आरोपमा मरनासन्न हुने गरी कुटपिट गरेको पीडित काजल कुमारी देवीले बताउनु भएको छ । पीडितलाई साउन १ गते बिहान आरोपित पति र सौताले झुण्ड्याएर हत्या गर्ने बताएपछि भागेर ज्यान जोगाई गाउँकै एक जनप्रतिनिधिको घरमा सरण लिन पुगेका थिए ।

पीडित काजल कुमारी देवी साउन १ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, महोत्तरीमा बोक्सीको आरोपमा पति विरुद्ध उजुरी दिन जाँदा प्रहरीले घरेलु हिंसाको निवेदन लेखेको र साउन २ गते घाउँ जाँच गराई साउन ४ गते दुबै पक्ष बिच छलफल गराएका थिए ।

छलफल रोकेर दुबै पक्षलाई बाहिर सहमति गरेर आउँन भनिएकोमा प्रहरी कार्यालय बाहिर झुक्याएर पति विनोदन कुमार दासले साउन ४ गते सम्बन्ध विच्छेदको कागजातमा सही छाप गराएको पीडित काजल कुमारी देवीको भनाइ छ ।

विवाह भएदेखि आरोपित पति विनोद कुमार दासले कुटपिट गरी पाँच पटक गर्भपत समेत गराई आफूलाई थाहै नदिइकन परिवार नियोजन गराइ दिएको पीडित काजल कुमारी देवीले दुःखेसो पोखेकी छिन् ।

पीडितले उजुरी दिन जाँदा प्रहरीले नसुन्ने र उजुरी लिन नमानेका कारण उजुरी प्रकियामा सहयोग गर्न र न्यायका लागि पहल गर्न पीडितले इन्सेक मधेस प्रदेश संयोजक पासवानलाई अनुरोध गरेकी थिइन् ।

पीडितलाई न्यायका लागि पहल गर्न र उजुरी प्रक्रियामा सहयोग गर्न इन्सेक, ओरेक, तराई मानव अधिकार रक्षक सञ्जालका प्रतिनिधि, कानून व्यवसायी र पत्रकार जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, पीडितले दिएको उजुरी लिएपनि राष्ट्रिय मुद्दा बनेकोले माथिल्लो निकायमा सोधेर मात्र उजुरी दर्ता गर्ने डिएसपी गिरीले बताएपछि पीडित निराश भएर फर्केकी थिइन् ।

महिला हिंसाका घटनाप्रति प्रहरी संवेदनशील नभएका कारण मधेस प्रदेशमा महिला हिंसाका घटनाहरु बढेर गएको छ, महिला हिंसा प्रभावितहरू न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले वेवास्ता गर्ने गरेका कारण दण्डहीनता बढेर गएको र पीडित महिला थप हिंसामा पर्ने गरेको इन्सेक मधेस प्रदेश संयोजक पासवानको भनाइ छ ।

अन्य

भिडियो