INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक दलहरूबाट कारबाहीको माग

Meetingअधिकारकर्मी तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि प्रहरीबाट भएको दुर्व्यवहार र कुटपिटको घटना निन्दनीय भएको भन्दै सप्तरीका क्रियाशील राजनीतिक दलहरूले साउन १७ गते घोर भत्सर्ना गरेका छन् ।

जिल्ला समन्वय समिति सप्तरीको वैठक कक्षमा बसेको सर्वदलीय बैठकले इन्सेक सप्तरीका प्रतिनिधि तथा अन्नपूर्ण पोष्टका संवाददाता पोखरेललाई दुव्र्यवहार कुटपिट गर्ने असई राजेश्वर महतोलाई कडा कारबाही गर्न माग गरेका छन् ।

गम्भीरतापूर्वक छलफलपश्चात बैठकमा सहभागी नेपाली कांग्रेसका अध्यक्ष रामदेब साह, नेकपा (एमाले) का सचिव देवनाथ यादव, नेकपा (माओवादी केन्द्र) जिल्ला सदस्य बिनोद यादव, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष केदारप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सहसचिव जयनारायण यादव, नेकपा–एकीकृत समाजवादी) मधेश प्रदेश कमिटीका सदस्य अनार कुमारी चौधरीले वैठक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।

पीडितको गुनासोका आधारमा पीडितसँगै समाचार सङ्कलनका लागि साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरी पुग्नुभएका पोखरेललाई धनुषाको मिथिला नगरपालिका–४ घर भई नागरिक सहायता कक्षमा कार्यरत असइ महतोले दुर्व्यवहार गर्दै संवेदनशील अङ्ग र अनुहारमा बुट र मुक्काले हानेका थिए ।

बैठकमा सहभागी दलहरूका प्रतिनिधिहरूले पछिल्लो समय सप्तरीमा प्रहरी प्रशासनबाट पत्रकार तथा अधिकारकर्मीमाथि भएको आक्रमणले सर्वसाधारणमा त्रास पैदा भएको निष्कर्ष निकालेका छन् । सप्तरीलाई कार्यक्षेत्र बनाएर विगत तीन दशकदेखि पत्रकारिता र मानव अधिकारको क्षेत्रमा क्रियाशील पोखरेलमाथि भएको दुर्व्यवहार र कुटपिट घटनाको चौतर्फी निन्दा र भत्सर्ना भइरहेको छ ।

अन्य

भिडियो