२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–७ बसन्तपुरका २७ वर्षीय पुष्करराज पाण्डेलाई साउन १६ गते गिरफ्तार गरेको छ ।
नाबालिका छोरीसँग सुतिरहेको समयमा घरका विजुलीका बल्बहरु तोडफोड गरी कोठा भित्र प्रवेश गरी साउन १५ गते राति १२ बजे बलात्कारको प्रयास गरेकोले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको पीडितकी सासुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बलात्कारको प्रयास भइरहेको अवस्थामा बुहारी रुनकराउन थालेपछि आरोपितले मोवाइल घटनास्थलमा छोडेर भागेको कारण पहिचान गर्न सजिलो भएको पीडितकी सासुको भनाइ छ ।
पति साउन १० गते भारतमा नोकरी गर्न जानु भएको मौकाछोपी आफूमाथि बलात्कारको प्रयास गरिएको पीडितको आरोप छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई साउन १६ गते घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका, डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १६ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।