छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा मण्डन देउपुर नगरपालिका-६ घर भई पनौती नगरपालिका-२ मा बस्ने कुशादेवी माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक तथा शिक्षक ४८ वर्षीय छवि गौतमविरूद्ध इलाका प्रहरी कार्यालय, बनेपामा ०८० साउन १६ गते उजुरी दर्ता भएको छ ।
पीडित छात्राहरूलाई आरोपितले कक्षामा पढाउन आउँदा पटक पटक होमवर्क गराउने र सिकाउने बाहाना गरी नजिक आइ दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, बनेपामा उजुरी दिएको इलाका प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
‘हामीलाई अति भएपछि हामी सबै पीडितहरूको सल्लाहमा विद्यालयमा सामुहिक उजुरी दिएका हौँ’, एक जना पीडित छात्राले उल्लेख गर्नुभयो ।
विद्यालयमा उजुरी परे लगत्तै अभिभावकहरूको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आरोपितलाई विद्यालयमा हाजिर नगराउने र नराख्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले बताउनु भयो ।
विद्यालयमा आएको उजुरीका आधारमा विद्यालयले नै इलाका प्रहरी कार्यालयमा कारबाही गर्न निवेदन दिएको उहाँले जानकारी दिनुभयो । उक्त उजुरी दर्ता गरी घटनाको अनुसन्धान सुरु गरेको डिएसपी बोहराले बताउनु भयो ।