अस्पतालबाट निःशुल्क वितरण गरिने भनिएको औषधिहरू समयमा व्यवस्थापन नहुँदा उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चौतारामा आउने बिरामीहरू मर्कामा परेका छन् ।
यस वर्षको लागि औषधि खरिद गर्न बजेटको अख्तियारी आउन ढिला भएकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीहरूलाई औषधि वितरणमा समस्या भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरिक्षक उत्तम ठकुरीले बताउनु भयो ।
अघिल्लो आर्थिक वर्षमा खरिद गरेको केही औषधि केही समयका लागि पुगे पनि निःशुल्क वितरण गरिने सबै औषधिहरूको अभाव भएको कविराज ठकुरीले जानकारी दिनुभयो । जिल्ला आयुर्वेद कार्यालयबाट विभिन्न २३ प्रकारका आयुर्वेद औषधिहरू निःशुल्क वितरण गरिन्छ ।
पायल्स रोग लागेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि गएका चौतारा सागाचोकगढी नगरपालिका-५ का किरणमान श्रेष्ठले निःशुल्क पाउनु पर्ने औषधि नपाएको बताउनु भयो ।
वर्षा याममा बिरामीको चाप बढी हुने, औषधिको अभाव पनि यसै समयमा हुने भएकाले स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा केही बाधा पर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख अञ्जु कार्कीले बताउनु भयो ।
सबैको नजरबाट टाढा भएको तर बिरामीहरूको लागि अति महत्व रहेको आयुर्वेदिक पद्धतिबाट उपचार हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै रोगका बिरामीहरू उपचारको लागि जानु पर्ने चौतारा सागाचोकगढी नगरपालिका ५ नं. वडाका वडा अध्यक्ष शिव श्रेष्ठले बताउनु भयो । अहिले अभाव भएका औषधिहरू तत्कालै पूर्ति गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।