INSEC Online

📅 २०८३ जेष्ठ २२

दुई ओटा मतदान स्थलमा बम फेला, सेनाद्वारा निष्क्रिय

मतदान केन्द्रलाई लक्षित गरी झापाको विर्तामोडका अलग-अलग दुई स्थानमा असार १२ गते बम राखेको भेटिएको छ ।

विर्तामोड नपा-७ को देवी उच्च मावि मतदान केन्द्रको प्रवेशद्वार र त्यसभन्दा केही उत्तर रहेको सुब्बा चोक नजिक असार १२ गते बिहान ८ बजे बम फेला परेको मतदान केन्द्रका कर्मचारी केशव खनालले जानकारी दिएका छन् ।

मतदान केन्द्रको प्रवेशद्वारमा बम भेटिएपछि फोटोसहितको परिचयपत्र लिन आएका मतदाता आतङ्कित हुँदै घर फर्किएका थिए । साप्ताहिक बजार बन्दको दिन आज सोमबार विर्तामोड बजार बन्द भएको मौका पारेर स्थानीय बासिन्दा मतदाता परिचयपत्र लिन आउने थाहा पाएपछि निर्वाचन केन्द्रमा खटिएका कर्मचारीले सोही अनुसार तयारी गरेका थिए ।

तर, बम राखिएका कारण आएकै समयमा मतदाताले मतदाता परिचयपत्र लिन पाएनन् । बिहान सबेरै आएका मतदाताहरूले दिउँसो दुई बजेपछि मात्रै परिचयपत्र लिएका थिए ।

दुवै स्थानमा फेला परेको बम ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस आइइडी’ भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी केशव थेवेले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले मतदातालाई त्रसित पार्ने नियतले कुनै आपराधिक समूहले बम राखेको हुन सक्ने बताएका छन् । ती दुवै स्थानको बम कालीबहादुर गण चारआली झापाबाट खटिएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो ।

अन्य

भिडियो