बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-१५, स्वयम्भुस्थित मन्जुश्री संस्थाद्वारा सञ्चालन गरिएको होस्टलका सञ्चालक २५ वर्षीय सोनम घ्यामचे घलेलाई प्रहरीले ०८० साउन ११ गते गिरफ्तार गरेको छ ।
सञ्चालक घलेलाई गिरफ्तार गरेपछि प्रहरीले राष्ट्रिय बाल अधिकार परिषद्, काठमाडौँ महानगरपालिका, छोरी संस्था, बाल हेल्पलाइन १०९८ र बाल अधिकारका लागि राष्ट्रिय अभियानको संयुक्त टोलीसँगको समन्वयमा होस्टलमा बस्ने ११ जना बालिकालाई उद्धार गरेर एक संस्थामा राखेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
एसपी रिजालका अनुसार होस्टलमा राहत वितरण गर्न गएका एक व्यक्तिले बालिकाहरूलाई होस्टल सञ्चालक घलेले यौन दुव्यर्वहार गर्ने गरेको भन्दै साउन १० गते प्रहरी वृत्त, स्वयम्भुमा उजुरी दिनुभएको थियो ।
पीडित बालिकाहरूलाई काउन्सिलिङ गरेर उनीहरूमाथि भएको दुव्यर्वहारबारे प्रहरीले जानकारी लिने काम गरिरहेको एसपी रिजालले बताउनु भयो ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण साउन ११ गते थापाथलीस्थित प्रसुति गृहमा भयो ।
प्रहरीले आरोपितमाथि साउन ११ गते जिल्ला अदालत, काठमाडौँबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको एसपी रिजालले जानकारी दिनुभयो ।