INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाको स्वास्थ्य पोषण सुधारका लागि दिवा खाजामा स्थानीय अन्नबालीको प्रयोग गर्ने नगरपालिकाको निर्णय

साँफेबगर नगरपालिकाले बालबालिकाहरुको स्वास्थ्य पोषण सुधारका लागि दिवा खाजामा गाउँमै फलेको अन्नबालीको प्रयोग गर्ने निर्णय गरेको छ । स्थानीय रैथाने बालीको संरक्षण तथा प्रर्वद्धन गर्न  र बालबालिकाहरुको स्वास्थ्य पोषणको सुनश्चितताका लागि विद्यालयमा दिवा खाजामा गाउँमै फलेका अन्नबाली प्रयोग गर्ने निर्णय गरेको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले बताउनु भयो ।

दिवा खाजामा स्थानीय उत्पादन प्रयोगको लागि ईच्छुक कृषि सहकारी संस्था, वहुउदेश्य सहकारी संस्था र वचत तथा ऋण सहकारी सस्थालाई साउन २० गते भित्रै प्रस्तावना माग गरिएको  साँफेबगर नगरपालिकाका प्रमुख कुँवरले बताउनु भयो ।

स्थानीय उत्पादनबाट विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्न, कृषि उत्पादनसँगै रोजगारी वृद्धिको अवसर सृजना गर्न, विद्यालय दिवा खाजालाई स्थानीय कृषि व्यवसाय र साना किसानका कृषि उत्पादनसँग जाडेर विद्यार्थीहरूले पौष्टिक तत्व सहितको ताजा खाजा खान पाउने वातावरण सृजना गर्न र कृषक र कृषिमा लगानी गर्ने वातावरण निर्माण गर्न नगरपालिकाले यो निर्णय गरेको नगरप्रमुख कुँवरको भनाइ छ ।

उहाँले नवीन कृषिप्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकरण मार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न कृषकलाई नगरपालिकाले अनुदान समेत वितरण गर्दै आएको जानकारी दिनु भयो ।

विद्यालयको दिवा खाजामा कोदो, मकै, भट्मास, स्थानीय धान, सिस्नु, फाँपरको ढिँडो, सिमी र बोडीको प्रयोग भएमा रैथाने बालीको सम्मानसँगै बालबालिकामा पौष्टिक तत्वको विकास हुने साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर शिलोजले बताउनु भयो ।

स्थानीय उत्पादनबाट प्राप्त अन्नबालीबाट बालबालिकाले ताजा दिवाखाजा खान पाउने, कृषक र समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने र स्थानीय कृषि उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सकिने उपप्रमुख कुँवरको भनाइ छ ।

स्थानीय कृषकलाई आफ्ना रैथाने कृषि उपजको बिक्री वितरणमा समस्या नहुने गरी व्यवस्थापन गर्न सकिने, कृषि सहकारी संस्था, वहुउद्धेश्य सहकारी संस्था, वचत तथा ऋण सहकारी संस्थासँग छलफल गरेर प्रस्तावना पेश गरिने र एक सहकारीले एक विद्यालयलाई दिवा खाजाको व्यवस्थापनको लागि जिम्मा लिने तयारी भइरहेको राष्ट्रिय कृषक समूह महासंघ नगरअध्यक्ष सुरेश कुँवरले बताउनु भयो ।

साँफेबगर नगरपालिका क्षेत्रमा बालबिकासमा पढ्ने बालबालिका र कक्षा १ देखि ६ कक्षासम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या ४ हजार भन्दा बढी रहेको र यी विद्यार्थीको दिवा खाजाको लागि १५ रुपियाँको दरले यो वर्ष १ करोड ४६ लाख ६२ हजार रुपियाँ प्राप्त भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकरप्रसाद खनालले जानकारी दिनु भयो ।

स्थानीय तथा रैथाने बालीबाट खाजाको उपलब्धता भएमा दिवा खाजाका लागि प्राप्त रकम गाउँमै भित्रिने प्राविधिक सहायक खनालको भनाइ छ ।

सरकारले कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोडेर उनीहरुको सीप, क्षमतालाई विकास गरी स्थानीय बालीलाई प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेको र यस कार्यक्रमले स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रर्वद्धनसँगै विद्यालयका बालबालिकाहरुले सफा, ताजा, स्वच्छ र पोषणयुक्त खाजा पाउने र कृषि क्षेत्र पनि फस्टाउने अवसर प्रदान गर्ने कृषि अधिकृत हिरे सार्कीले बताउनु भयो ।

अन्य

भिडियो