INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा मृत्यु भएको घटनाको अनुगमन

362845526_1004475030673211_7909877750149169414_n
चक्रघटटा गाउँपालिका–८, औरही की ३८ वर्षीया हजरत खातुनको जिल्ला प्रहरी कार्यालय, सर्लाहीको हिरासतमा साउन ४ गते राती १० बजे मृत्यु भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल, ओरेक र मानव अधिकार रक्षक सञ्जाल सर्लाहीको टोलीले साउन ६ गते स्थलगत अनुगमन गरेको छ ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, एडभोकेसी फोरमका प्रदेश संयोजक राजकुमार महासेठ, पूर्व इन्सेक सर्लाही प्रतिनिधि बुधन साह, मानव अधिकार रक्षक संजाल, सर्लाहीका अध्यक्ष मुकेश मिश्र र ओरेक सर्लाही प्रतिनिधि ममता साहको संयुक्त टोलीले प्रादेशिक अस्पताल, भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय सर्लाही र मृतकका परिवारको घरमा पुगी सरोकारवाला निकायसँग भेटघाट तथा छलफल गरी घटनाको बारेमा जानकारी लिएका छन् । साथै टोलीले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा रहेको प्रहरी हिरासतको समेत स्थलगत अनुगमन गरेको छ ।

अनुगमनको क्रममा हजरत खातुन दुई महिना अघिनै घरबाट ७ लाख रुपियाँ र केही गरगहना सहित गाउँकै ३२ वर्षीय राम केवल रायसँग भारतको मुम्बइ गएको र साउन १ गते मुम्बइबाट घर फर्किने क्रममा मलङ्गवा नगरपालिका–८ झिल्मिलिया माई स्थान स्थित नेपाल र भारत सीमा नाकामा सशस्त्र प्रहरी बलले दुबै जनालाई ५ लाख ४ चार हजार नगद रुपियाँ सहित गिरफ्तार गरी साउन २ गते भन्सार कार्यालय सर्लाहीमा बुझाएको भन्सार कार्यालय सर्लाहीका प्रमुख नरेश साहले जानकारी दिनु भयो ।

साउन ४ गते खातुनलाई ३ लाख ४४ हजार २ सय र रायलाई २ लाख ५२ हजार रुपियाँ धरौटीमा राखी रिहा गर्ने र धरौटी रकम नराखेसम्म तत्कालको लागी हिरासतमै राख्ने गरि जिल्ला प्रहरी कार्यालय मलङ्गवा पठाइएको भन्सार कार्यालयका अधिकृत नरेश साहले जानकारी दिनु भयो । तर, प्रहरी हिरासतमा मृत्यु भएको घटना आश्चर्य जनक रहेको उहाँको भनाई थियो ।

भन्सार कार्यालयले दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राख्न पठाएको र हिरासतमा रहेकी महिला हजरत खातुनले साउन ४ गते राती १०ः१० बजे हिरासतमै रहेको सौचालयमा आफ्नै सल लगाई आत्म हत्या गर्ने प्रयास गर्दा तत्काल उद्धार गरी प्रादेशिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पंजियार थारुले बताउनु भयो ।

शवको पोष्टमार्टम साउन ५ गते प्रादेशिक अस्पताल मलङगवामा गरी दिउँसो ३ बजे मृतकका ४५ वर्षीय पति तस्वीर अन्सारीलाई सदगदका लागि बुझाइएको र घटनाको थप अनुसन्धान जारी रहेको डिएसपी थारुले जानकारी दिनु भयो । प्रहरी कार्यालयबाट हजरत खातुनलाई उपचारका लागि साउन ४ गते राती १०ः१० बजे प्रादेशिक अस्पताल मलङ्गवामा ल्याए पश्चात जिउँदै रहेको तर, अवस्था चाही धेरै नाजुक रहेकोले उपचारकै क्रममा १०ः४० बजे मृत्यु भएको र मृत्यु पश्चात साउन ५ गते दिउँसो अन्दाजी ३ बजे पोष्टमार्टम गरी शवलाई मृतकका पति तस्वीर अन्सारीलाई बुझाइएको प्रादेशिक अस्पताल मलङ्गवाका डा. सुरजकुमार झाले जानकारी दिनु भयो ।

मृतक हजरत खातुनका पति तस्वीर अन्सारीका अनुसार साउन ४ गते राती प्रहरीको टोली घरमा आएर काम छ भनि लगेकोमा पत्नी प्रहरी हिरासतमा झुण्डिएर मरेको हेर्न लगाई भोलि पल्ट शव बुझाएपछि साँझ सामाजिक परम्परा अनुसार सद्गद गरिएको हो । गाउँकै केटासँग पत्नी भागेको थाहा पाएपछि खोजविनका लागि नजिकको प्रहरी कार्यालयमा जानकारी गराएको मृत्कका पति अन्सारीको भनाई थियो ।

अन्य

भिडियो