सप्तरीमा आर्थिक वर्ष २०७९/८० मा बलात्कार र बलात्कार प्रयासका १ सय १३ थान मुद्दा फर्स्यौट भएका छन् ।
वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला अदालतले १ सय ५४ मध्ये १ सय १३ थान मुद्दा फर्स्यौट भएको जनाएको छ । फैसला हुन बाँकी ४१ ओटा मुद्दा चालु वर्षका लागि सरेका छन् । प्रमुख जिल्ला न्यायाधीश हेमन्त रावलले जिम्मेवारी सरी आएको पुराना १ सय ३ थान र गत वर्ष नयाँ दर्ता भएका ५१ गरी १ सय ५४ थान मुद्दा लगत रहेकोमा १ सय १३ थान मुद्दा फैसला भएको बताउनु भयो ।
यसैगरी मानव बेचबिखन तथा ओसार पसारका सात मध्ये पाँच थान मुद्दा फर्स्यौट भएको छ । जसमध्ये जिम्मेवारी सरी आएको पुराना मुद्दा नै ६ थान थिए । कथित बोक्सी आरोपका २५ मध्ये १५ थान मुद्दा फर्स्यौट भएको अदालतले जनाएको छ । जसमा पुराना १५ र गत वर्ष दर्ता भएका १० थान मुद्दाको लगत रहेको थियो ।
यस्तै घरेलु हिंसाका ७१ थान मुद्दा फर्स्यौट हुँदा ४६ थान मुद्दा फर्स्यौट हुन बाँकी रहेको छ । जिम्मेवारी सरी आएको पुराना ५४ र नयाँ दर्ता भएका ६३ थान मुद्दा अदालतमा लगत रहेको थियो । आत्महत्या दुरुत्साहनका पुराना दुई र नयाँ दर्ताका सात गरी नौ थान मुद्दा मध्ये पाँच थान मुद्दा फर्स्यौट भएको छ ।
यस्तै हत्या र हत्या प्रयासका २ सय ४ थान मुद्दा मध्ये १ सय ४० थान मुद्दा फर्स्यौट भएका छन् । न्यायाधीश रावलका अनुसार जिम्मेवारीबाट सरेर आएका पुराना मुद्दा नै १ सय ४४ थान रहेको थियो । छुवाछुत र जातिय विभेद सम्बन्धी मुद्दा नरहेको अदालतले जनाएको छ ।