INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा कैद र जरिबानाको फैसला

१४ वर्ष ५ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय धिरजकुमार पण्डितलाई असार ३१ गते १२ वर्ष ३ महिना कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आरोपितलाई कसुर ठहर गर्दै कैद सजायका साथै ५ लाख रुपियाँ जरिवाना तिराउने, २ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिलाउने र फौजदारी कसुर पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ भराउने फैसला भएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।

आरोपितले ०७९ असोज २३ देखि ०७९ माघ २८ सम्म बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा ०७९ फागुन १ गते उजुरी दिनुभएको थियो । आरोपितले ०७९ असोज २३ गते साँझ बालिकालाई विवाह गर्ने आश्वासन दिई, प्रलोभनमा पारी, टेम्पोमा चढाई भारतको भिमनगर लगेर बलात्कार गरेको आरोप छ ।

आरोपितले ०७९ असोज २४ गते भारतको दिल्ली लगेर राखेको कुरा बालिकाबाट फोनमार्फत ०७९ माघ २४ गते जानकारी पाएर ०७९ माघ २९ गते उद्धार गरी नेपाल फर्काई ल्याएको बालिकाका बुबाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले फागुन १ गते आरोपितलाई गिरफ्तार गरी फागुन २ गते उजुरी दर्ता गर्‍यो।

जिल्ला अदालतमा ०७९ फागुन २६ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश लालकाजी श्रेष्ठको फागुन २८ गतेको इजलासबाट आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । साढे ३ वर्षदेखि सम्बन्ध रहेको पीडितकै सहमतिमा भारत गएर ४ महिना बसेको आरोपितले बताउनु भयो । पीडितले विदेश गए मर्ने धम्की दिएपछि विदेश जाने प्रक्रिया स्थगित गरी भारत गएको आरोपितले बताउनु भयो ।

अन्य

भिडियो