INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालको लापरवाहीले बालकको मृत्यु, मृतक पक्षको विरोध प्रदर्शन पछि अस्पतालको सेवा अवरुद्ध

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको लापरवाहीका कारण को घोराही उपमनपा–३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारको क्रममा असार २८ गते मृत्यु भएको छ । घटनाका विषयमा मृतक पक्षले बिरोध प्रदर्शन गरे पछि अस्पतालको सेवा अवरूद्ध भएको छ ।

छारे रोगका कारण असार २६ गते भर्ना भएका बालकको असार २८ गते विहान एमआरआई गर्न जाँदा बिरामीलाई ह्विलचेयर र अक्सिजन सिलिण्डरसहित लगेपछि ढोकाबाटै चुम्बकले तानेर एमआरआई मेसिनमा टाँसिएपछि चोट लागेर गम्भीर घाइते भएका बालकको असार २८ गते उपचारकै क्रममा मृत्यु भएको मृतककी फूपु सरिता नेपालीले जानकारी दिनुभयो ।

‘एमआरआई गर्ने मेसिनले ढोका खोल्नेवित्तिकै बिरामीसहित सिलिण्डर तानेर लाग्यो, त्यस्कै चोटले बिरामीको मृत्यु भयो । धातुजन्य वस्तु लैजान नहुने थाहा पाउँदा पाउँदै लापरबाही गरेर अक्सिजन सिलिण्डर लैजादा ज्यान गयो ।,’  –सरिताले भन्नु भयो ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले एमआरआई गर्ने कोठामा  सिलिण्डर लैजाने त्रुटि भएपनि सिलिण्डरले बिरामीलाई कुनै चोट नलागेको र छारे रोगका कारण बिरामीको मृत्यु भएको बताउनु भयो ।

मृतकका आफन्तले लापरवाहीले बालकको ज्यान गएको भन्दै असार २८ गतेदेखि विरोध प्रदर्शन गरिरहेका छन् । असार २९ गते प्रतिष्ठान घेराउ गरेका छन् भने घोराही लमही सडक खण्ड बिहान ११ बजेदेखि अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण प्रतिष्ठानको ओपिडी लगायतका सबै सेवा बन्द भएका छन् ।  अस्पतालमा भर्ना भएका बिरामीहरूको भने उपचार भइरहेको प्रतिष्ठानका रजिष्ट्रार थापाले जानकारी दिनुभयो ।

सहमतिका लागि असार २८ गते बसेको द्विपक्षीय बार्ता असफल भएपछि असार २९ गते पुनः वार्ता सुरू भएको छ । पीडित पक्षले क्षतिपूर्ति स्वरूप २५ लाख रूपियाँ माग गरेका छन् भने सहमति नहुँदासम्म मृतकको शव नउठाउने पीडित पक्षले जनाएको छ ।

अन्य

भिडियो