
त्रिभुवन विश्वविद्यालय र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको लापरवाही र कमजोरीले असार २५ गतेबाट सुरु भएको विभिन्न तहको परीक्षा दिनबाट सात जना परीक्षार्थी वञ्चित भएका छन् ।
विश्वविद्यालयले शुरु गरेको स्नातक तह शिक्षा तृतीय वर्षका ३ जना, स्नातक तह व्यवस्थापन तृतीय वर्षका ३ जना र स्नातकोत्तर तहका १ जना परीक्षार्थी परीक्षा दिनबाट वञ्चित हुँदै घर फर्कन बाध्य भएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसले परीक्षा फारम भर्न छुटाउँदा प्रवेशपत्र नै नआए पछि स्नातक तह शिक्षा तृतीय वर्षका कष्णा प्रसाद राउत, प्रियंकाकुमारी यादव, निलमकुमारी यादव, स्नातक तह व्यवस्थापन तृतीय वर्षका सुखशेन पण्डित, महाकान्त चौधरी, सपनाकुमारी पण्डित र स्नातकोत्तर तह व्यवस्थापन संकायका आरतीकुमारी साह परीक्षामा सामेल हुन पाएनन् ।
परीक्षाको अघिल्लो दिनदेखि नै कुनै वैकल्पिक व्यवस्था गरेर परीक्षा दिलाउन परीक्षार्थीहरूले क्याम्पस प्रमुख, प्रशासन, स्ववियु र विद्यार्थी संगठनका नेताहरूसँग हारगुहार गरे पनि परीक्षा दिनबाट वञ्चित हुँदै घर फर्कन बाध्य हुनुपरेको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाका सुखशेन पण्डितले बताउनु भयो ।
शम्भुनाथ नगरपालिकास्थित ज्ञानज्योति माध्यमिक विद्यालयमा अध्यापनरत रुपनी गाउँपालिका–३ कटैयाका कृष्ण प्रसाद राउतले भन्नुभयो – ‘डब्बल दस्तुर तिरी परीक्षा फारम भरेर राम्रै तयारी गरेको थिए, क्याम्पसले परीक्षा फारम नै नपठाउँदा परीक्षाबाट वञ्चित हुनु पर्यो, क्याम्पसको गल्तीको सजाय हामीले भोग्नु पर्यो।’
क्याम्पसको परीक्षा शाखाका प्रमुख चन्देश्वर प्रसाद यादवले गल्ती स्विकार गर्नुभयो । भन्नुभयो–“विद्यार्थीको कुनै गल्ती छैन्, यो सबै विश्वविद्यालयको गल्ती हो ।” अनलाइनमार्फत फारम भर्ने समय पटक–पटक गरी असार ६ गतेसम्मका लागि बढाए पनि सर्भरले कामै नगरेकोले सात जनाको परीक्षा फारम भर्न नसकिएको उहाँले बताउनु भयो ।
सर्भर अप ९सक्रिय० नहुँदा ७ विद्यार्थीको परीक्षा फारम भर्न नसकिएको र यसबारे समयमै खबर गर्न नसकिएकोमा क्याम्पस प्रमुख राजिब मिश्रले पनि कमजोरी स्विकार्नु भयो । कामसँग मात्र नभएर जीवनसँग जोडिएको परीक्षा जस्तो संवेदनशील विषयलाई सामान्य मान्ने चिन्तनको विद्यार्थी नेता मनीषा साहले निन्दा गर्नुभयो ।