हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ विष्णुपुरका ६५ वर्षीय जगदिश रामको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा देवकुमार रामलाई ०८० असार २६ गते तीन वर्ष कैद सजाय भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासबाट तीन वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र फौजदारी कसुर पीडित राहत कोषमा ६ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला भएको अदालतले जनाएको छ ।
आफ्नै घरमा बसिरहेका रामको हत्या ०७६ वैशाख २१ गते भएको थियो । घरायसी विवाद गरेका माइला छोरा देवकुमार घटनापछि फरार रहेकोमा पछिल्लो समय गाउँघरमा नै लुकीछिपी बस्ने गरेको सूचनाका आधारमा ०७९ फागुन १ गते गिरफ्तार गरिएको प्रहरीले जनायो ।
मृतककी जेठी बुहारी ३० वर्षीया सुनीतादेवी रामले जिल्ला प्रहरी कार्यालयमा ०७६ वैशाख २२ गते उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७६ वैशाख २२ गते उजुरी दर्ता गरेको थियो । शवको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २२ गते भएको थियो ।