INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्गम गाउँका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

जिल्लाका दुर्गम गाउँबस्तीहरुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह नहुनु र दुर्गम गाउँका महिलाहरुको स्वास्थ्य सेवामा पहुँच नभएका कारण ग्रामिण क्षेत्रका सुत्केरीहरु बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् ।

परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारलाई असार २६ गते सुत्केरी ब्यथाले च्यापेपछि परिवारका सदस्यहरुले पिठिउँमा बोकेर स्वास्थ्य चौकी लैजाने क्रममा उहाँले बाटौमै छोरा जन्माउनु भएको हो ।

गाउँमा स्टेचर समेत नभएपछि स्थानीयहरुले पिठ्युँमा बोकेर जोगबुडा अस्पताल लैजादै गरेको समयमा स्वास्थ्य संस्था पुगाउँदै लामीगडाको जङ्गममा बेलुकी ६.३० बजेको समयमा मिनाले बच्चा जन्माउनु परको स्थानीय कबिता धमलाले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘असारको झरीमा अप्ठेरो बाटोमा सामान्य मानिसलाई हिडेर जोगबुढा अस्पताल पुग्न करिब पाँच घण्टा लाग्छ । सुत्केरीलाई पिठिउँमा बोकेर त्यति टाँढाको अस्पताल पुर्‍याउन स्थानीयहरुले सास्ती खेप्नु परेको छ । सादनीका स्थानीयले राति १० बजे स्टेचर ल्याएर सत्केरी र बच्चालाई सादनी स्वास्थ्य चौकी पुगाएका थिए ।’

बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोग्ने मिना एक्ली होइनन् । गत मङ्सिर महिनामा पनि जमरानीकै संगिता लुहारलाई जोगबुढा अस्पताल लैजाँदै गर्दा बाटौमै शिशुलाई जन्मदिनु भएको थियो । जमरानीमा यस्ता घटना प्रायः भइरहने भए पनि संचारमाध्यमा कमै प्रकाशित हुने गरेको स्थानीय धमलाको भनाइ छ ।

गाउँमा जमरानी आधारभूत स्वास्थ्य केन्द्र भए पनि यस स्वास्थ्य केन्द्य्रमा सिटामोल पनि पाउन समस्या हुने गरेको र गाउँमा अझै चार जना गर्भवती रहेकाले उनीहरुको ज्यान कसरी जोगाउने भन्ने चिन्ता बढेको स्थानीय कबिता धमलाले बताउनु भयो ।

जमारा गाउँमा यातायातको सविधा नभएको र प्रसूती सेवा समेत नभएकोले यस गाउँका सुत्केरी र गर्भवतीहरुले सास्ती खेप्नु परेको छ ।

परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले बाटौमै शिशु जन्माउनु पर्ने बाध्यता यहाँका महिलाको दैनिकी बनिसकेको बताउनु भयो ।

‘ढेपरी खोला पुल बगाएको दुई वर्ष भयो । वर्षातमा बाटो पूर्ण रुपमा बन्द हुन्छ । प्रदेश सरकारले पुल निर्माणका लागि २० लाख रुपियाँ बजेट त छुट्याएको छ । तर, टेण्डर हुन बाँकी छ,’ उहाँले भन्नु भयो, ‘हामीले पटकपटक टेण्डरका लागि प्रदेशलाई आग्रह गरेका छौँ । ग्राभेल सडकका लागि नगरपालिकासँग पनि माग गरेका छौँ ।’

जमरानी आधारभुत स्वास्थ्य केन्द्रको स्तरोउन्नती हुन सके पनि महिलाहरूलाई सहज हुने उहाँको भनाइ छ ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा प्रत्येक नागरिकलाई  राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ कसैलाई पनि आकष्मिक स्वास्थ्य सेवाबाट वञ्चित गराइने छैन र सबै नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था गरिएको भए पनि ग्रामिक क्षेत्र महिलाहरु स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटो मै बच्चा जन्माउन बाध्य छन् ।

Photo20230712dadeldhura (1)

अन्य

भिडियो