चन्द्रागिरि नगरपालिका-१, दहचोकस्थित श्री कृष्ण माध्यमिक विद्यालयको ८ कक्षामा अध्यनरत १३ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक ४० वर्षीय एकराज पण्डितलाई प्रहरीले ०८० असार २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई शिक्षक पण्डितले कन्चटमा पिटेपछि बेहोस भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
रिजालका अनुसार शिक्षक पण्डितको कुटपिटबाट बालिका बेहोस भएपछि पीडित पक्षले असार २१ गते प्रहरी वृत्त, थानकोटमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि घटनास्थल पुगेको प्रहरीको टोलीले आरोपित शिक्षकलाई गिरफ्तार गरेको हो । पीडित बालिकाको उपचार ओम समाज अस्पताल, सतुङ्गलमा भइरहेको अस्पतालका डाक्टर भिमनाथ खरेलले जानकरी दिनुभयो ।