सिन्धुपाल्चोक जिल्ला साविक सेलाङ गाविस-९ स्थित मुखियाटोल, हाल जुगल गाउँपालिका-१ सेलाङकी ४९ वर्षीया बिमला सिलवाल न्यायको पर्खाइमा सदरमुकाम चौतारामा भौतारिरहनुभएको छ ।
बिमलाको पति पूर्णबहादुर सिलवाल गाउँकै श्री पाँचपोखरी प्राथमिक विद्यालयको अस्थायी शिक्षकमा कार्यरत हुनुहुन्थ्यो । तत्कालिन विद्रोही नेकपा माओवादीले ०५९ जेठ १६ गते शिक्षक पूर्णबहादुर सिलवालसँग एक महिनाको तलब पार्टीलाई चन्दा दिनुपर्ने माग राखे । तर शिक्षक सिलवालले आफू माओवादीलाई पैसा दिन मन्जुर हुनुभएन ।
चन्दा दिन नमानेकै कारण माओवादी कार्यकर्ताहरूले शिक्षक सिलवाललाई गाउँ निकाला गरे । माओवादीले गाउँ निकाला गरेका शिक्षक सिलवालकी २८ वर्षीया पत्नी बिमला, ६ वर्षीय छोरा राजिव र चार वर्षीया छोरीसहित ०५९ जेठ २५ गते विस्थापित भएर सदरमुकाम चौतारा आइपुग्नु भयो ।
प्राथमिक विद्यालयमा अस्थायी शिक्षक भएर काम गर्दै जसोतसो परिवार पालेर गाउँमै बस्नुभएका पूर्णबहादुरको परिवारलाई माओवादीले गाउँ निकाला गरेपछि ज्यान जोगाउन उहाँहरूको चार जनाको परिवार त्यतिखेर सदरमुकाम पुग्नुभएको हो ।
सङ्कटकालको समय, दोहोरो बन्दुकको मारमा नागरिक पिल्सिनु परेको त्यो कालो दुर्दिनको समयमा विस्थापित जीवन कष्टपूर्ण रुपले बिताउनु परेको अहिले बिमला बताउनुहुन्छ ।
चन्दा नदिएको आरोपमा माओवादीले घर गाउँबाट निकाला गरेपछि बालबालिकाको लालनपालन र पठनपाठनमा शिक्षक सिलवाललाई त्यतिखेर निकै कष्ट भएको थाहा पाएपछि जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले शिक्षक पूर्णबहादुर सिलवाललाई सदरमुकाम स्थित श्री बालसुधार प्राथमिक विद्यालयमा ०५९ माघ देखि काजमा राख्ने प्रबन्ध मिलाएको थियो ।
विस्थापित भएर सदरमुकाम बस्ने, गाउँको विद्यालयमा नआई उही काजमा बसेर कामकाज गर्ने भन्दै माओवादीले शिक्षक पूर्णबहादुर सिलवाललाई पुन धम्की दिने र मानसिक तनाव दिने काम बन्द भएन ।
गाउँबाट विस्थापित भई सदरमुकाम डेरा खोजेर बस्दा पनि धम्की व्यहोर्दै बस्नुभएका शिक्षक सिलवाल माओवादी कार्यकर्ताको पटक पटकको धम्कीका कारण मानसिक बिरामी पर्नुभएको कारण ०६२ साउनमा उहाँको मृत्यु भयो ।
सशस्त्र द्वन्द्वको कारणले विस्थापित भएर सदरमुकाम बस्दै आएका चार जना रहेको त्यो परिवारको कमाइ गरेर जीवन यापन गराउने मुख्य व्यक्तिको निधन भएपछि दुई छोराछोरीको सम्पूर्ण जिम्मेवारी बिमला सिलवालको काँधमा आयो । सामान्य लोखपढमा मात्र सिमित रहनुभएकी बिमलालाई जिम्मेवारी सम्हाल्न निकै मुस्किल भएको उहाँको भोगाई छ ।
पतिको मृत्युको वियोग । विस्थापित जिवन, छोराछोरीको जिम्मेवारी, कोठा भाडा, आदी-आदी । यसकै पिरलोले बिमला पनि त्यतिखेर मानसिक रुपमा बिछिप्त बन्न पुग्नुभयो । कहिले अधिकारकर्मी त कहिले पत्रकारसँगको भेटघाट । त्यतिखेर बिमलाको सडककै दिनचर्या बन्नपुग्यो ।

सदरमुकाममा विस्थापित हुनुभएकी बिमला र उहाँका दुई बालबालिकाको कष्टपूर्ण रुपमा बितेका दिनहरू देखेर सदरमुकामका सामाजिक अभियान्तहरूले बिमलालाई स्थानीय एक गैरसरकारी संस्थामा कार्यालय सहयोगीको रुपमा काम गर्ने व्यवस्था गरेपछि केही समयका लागि अस्थायी रुपमा भएपनि बिमलाको परिवारलाई केही बाँच्ने आशा पलायो ।
देशमा शान्ति आयो । बन्दुक बोक्नेहरूले बन्दुक बिसाए । द्वन्द्वका विस्थापितहरूलाई राहत सहित पुनस्थापित गर्ने कुरा पनि त्यतिखेर सरकारले गर्न थाल्यो । तर बिमलाको परिवारले न कुनै राहत पाइन्, न त गाउँ नै फर्कन । त्यतिखेर बिमलाले जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समितिमा राहतको लागि पटक पटक निवेदन दिएको तर आफ्नो भनिदिने मान्छे नभएकाले सुनुवाई नभएर राहत नपाएको बिमलाले बताउनु भयो ।
‘घर फर्कुँ भने पनि गाउँमा भएको तीन रोपनी जग्गा विस्थापित भएदेखि बाँझै छ । त्यो बाँझो जग्गालाई खनेर के गरी खानु ? घरमा भएका सासु ससुरा परलोक भै सके । म एक्लो गाउँमा फर्केर कसरी बाँच्ने ?’ अहिले बिमलाको प्रश्नै प्रश्नको सङ्गालो मनमा छ ।
‘बल्लतल्ल पढाएर हुर्काएको छोरा अहिले रोजगारीका लागि युएई भन्ने देश गएको छ । छोरी विवाह गरेर न्यूजिल्याण्ड भन्ने देश पुगेकी छन् । आफू सदरमुकाममा अहिले सम्म पनि विस्थापित एक्लो जिवन बिताइरहेकी छु’, बिमलाले आफ्नो पीडा बताउनु भयो । छोरीले विदेशबाट पठाइदिएको केही पैसाले आफ्नो जीवन जिनतिन धानेको उहाँ बताउनुहुन्छ ।
बिमलाको परिवार जस्तै अन्य विस्थापितले मात्र होइन शिक्षक पूर्णबहादुरको परिवारलाई विस्थापित पार्नेहरूले थरिथरिका द्वन्द्वपीडितका राहत सुविधा पाए तर अहिले सम्म बिमलाको परिवारले न राहत न न्याय । बिमला बताउनुहुन्छ – ‘हामी जस्ता असाहायहरूले पनि एक दिन राहत र न्याय पाइन्छ होला भन्ने पर्खाइमा बसेकी छु’ ।