४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–४ छप्की भथौलका ४५ वर्षीय बद्रीनारायण साहलाई असार १७ गते पाँच वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको इजलासले अभियुक्तलाई पाँच वर्ष कैदका साथै ४५ हजार रुपियाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।
घरगुहालीमा सुतिरहेकी पीडितलाई ०७५ साउन २१ गते दिउँसो एक्कासी आएका आरोपितले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते उजुरी दिनुभएको थियो । पीडितको छोराले देखेर कुटपिट गरेपछि आरोपित फरार भएका थिए । धानचामलको व्यापारी र ट्रयाक्टर चालक अराोपित चप्पल, सर्ट र मोटरसाइकल छाडी फरार भएका थिए । पीडितका पति साढे एक वर्षदेखि बैदेशिक रोजगारमा छन् ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ साउन २१ गते स्वास्थ्य परिक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले साउन २३ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतले ०७५ पुस २४ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो । जिल्ला न्यायाधीश सूर्यनाथ प्रसाद अधिकारीको इजलासले ०७८ वैशाख १५ गते मुद्दा मुल्तबीमा राख्ने फैसला गरेकेो थियो । आरोपित ०७९ चैत १४ गते अदालतमा हाजिर भएपछि न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।