बिरामीको उपचारमा लापरवाही गरेको कारण व्यास नपा १० घर भएका व्यास नगरपालिकामा कार्यरत इन्जिनियर ३५ वर्षीय कमल शर्माको मृत्यु भएको आरोपमा मृतकका आफन्तले व्यास नपा–४ दमौलीमा रहेको रत्नहरी अस्पतालमा असार १७ गते तालाबन्दी गरेका छन् । शर्मा असार १३ गते उपचारका लागि रत्नहरी अस्पतालमा भर्ना हुनु भएकोमा उक्त अस्पतालले बिरामीको अवस्थामा सुधार आएको भन्दै चार दिनसम्म बिरामीलाई अस्पतालमा राखेको पीडित पक्षको आरोप छ । अस्पतालमा दैनिक ५० जना बिरामीले सेवा लिने गरेकामा तालाबन्दीका कारण सेवाग्राही प्रभावित भएका छन् । अस्पतालका सञ्चालक ताराप्रसाद श्रेष्ठका अनुसार तालाबन्दी हुनु अगावै भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ ।
शर्माको स्वास्थ्यमा कुनै सुधार नभएपछि असार १६ गते रेफर मागेर पोखरास्थित चरक अस्पतालमा लगेकोमा बाटोमा नै शर्माको मृत्यु भएको थियो । रत्नहरी अस्पतालले गम्भीर बिरामीलाई पनि निको हुन्छ भन्दै राखेको कारण शर्माको मृत्यु भएको शर्माका आफन्त मदन तिमल्सिनाले आरोप लगाउनु भयो । समयमै सुविधा सम्पन्न अस्पतालमा लैजान सकेको भए बचाउन सकिने तिमल्सिनाको भनाइ छ ।
गम्भीर प्रकृतिको बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गर्नु पर्नेमा रत्नहरी अस्पतालले उपचारको बाहानामा धेरै दिन राखेर बिरामीको स्वास्थ्यमा खेलवाड गरेको भन्दै मृतकका आफन्त र स्थानीय बासिन्दाले असार १७ गते साँझ उक्त अस्पतालमा तालाबन्दी गरेका हुन् ।
मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारवाही हुनु पर्ने, उक्त घटनाको छानविन र मृतक परिवारलाई उचित क्षतीपुर्ति दिनु पर्ने माग गरेका छन् । व्यास नगरपालिकाले असार १७ गते अस्पताल प्रशासन र बिरामीका आफन्तबिच छलफल गराउँदा अस्पताल प्रशासनबाट आफ्नो कमजोरी नस्वीकारेपछि तालाबन्दी गरेको तिमल्सिनाले बताउनु भयो । अस्पतालका सञ्चालक ताराप्रसाद श्रेष्ठले उक्त घटनाको बारेमा अस्पताल प्रशासनबाट छानविन गरिने बताउनु भयो ।
व्यास नगरपालिकाले नगरपालिका भित्र सञ्चालित अस्पतालहरुले दिने सेवा र प्रयोगशालाका बारेमा पटकपटक गुनासो आएको, नविकरण र दर्ता नगरी स्वास्थ्य संस्थाहरु सञ्चालन गरिएको सम्बन्धमा पाँच दिन भित्र प्रभावकारी अनुगमन गर्ने र आवश्यक सुधारका लागि सम्बन्धित अस्पतालहरुलाई निर्देशन दिएको छ । उक्त निर्देशन पालन नगरेमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताउनु भयो ।
