INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रमुख प्रशासकीय अधिकृतलाई मार्ने धम्की घटनाका आरोपित विरुद्ध जिल्ला प्रशासनमा उजुरी

बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल बिकलाई असार १३ गते मार्ने धम्की दिएको आरोपमा बडीमालिका–६ का वडाध्यक्ष कृष्णबहादुर खड्का विरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय, बाजुरामा असार १३ गते नै उजुरी दिनु भएको छ ।

बडीमालिका नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर खड्काले प्रक्रिया नमिलेको रकम भुक्तानी गर्न दबाब दिएपछि आफूले अस्विकार गरेका कारण मार्ने धम्की दिनुभएको प्रमुख प्रशासकीय अधिकृत बिकले बताउनु भयो ।

बडिमालिका नगरपालिकाका प्रमुख अम्मरबहादुर खड्का, सोही नगरपालिका–७ का वडाध्यक्ष तथा नगरप्रवक्ता धर्मराज पाध्याय भएकै बेला असार १३ गते वडाध्यक्ष खड्काले पटक–पटक आक्रमण गर्न खोजेको बिकको आरोप छ ।

दुई पटक आफूमाथि आक्रमणको प्रयास भएको र असार २० गतेसम्म भुक्तानी नदिए मार्ने धम्की दिइएको कारण जिउज्यान सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएको प्रमुख प्रशासकीय अधिकृत बिकले बताउनु भयो ।

मना सडक मर्मत, विरेखोला झरनाको काठेपुल निर्माण, बडीमालिका नगरपालिका–६ कार्धको कैलाशमाडौँ मन्दिर निर्माण र मालिका पर्यटन वर्षमा भएको रकम भुक्तानी गर्नु पर्ने माग वडाध्यक्ष खड्काले राख्नु भएको भए पनि ती योजनामा सम्झौता, सामान खरिद प्रक्रिया, कोटेसन्लगायतका प्रक्रिया नमिलेका कारण भुक्तानी दिन नसकिने प्रमुख प्रशासकीय अधिकृत बिकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

वडाध्यक्ष कृष्ण खड्काले गत वर्ष पनि जनताले गरेको कामको भुक्तानी रोकिएकोले आफू जनताको प्रतिनिधि भएको कारण जनताले काम गरेको खर्च रकम पाउनु पर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग भनाभन भएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले प्रमुख प्रशासकीय अधिकृत रंगमल बिकले जिउज्यान सुरक्षा तथा आरोपितलाई कानुन अनुसार कार्वाहीको मागराखि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु भएको बताउनु भयो ।

पीडित पक्षले दिएको निबेदनपश्चात वडाध्यक्ष खड्कासँग सम्पर्क गरी बुझ्न खोज्दा कामको शिलसिलामा काठमाडौँ हिडेको भन्ने जवाफ आएकोले घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयो ।

अन्य

भिडियो