INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजो माग्दै विवाह रद्द गर्न खोज्ने बेहुला विवाह मण्डपबाटै गिरफ्तार

दाइजोमा ५० लाख रुपियाँ माग्दै विवाह रद्द गर्न खोज्ने सुनसरीको दुहवी नगरपालिका-६ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका-१३, ताहाचल बस्ने ३२ वर्षीय बेहुला अनुराग रौनियारलाई प्रहरीले ०८० असार १२ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार अमेरिकी ग्रिनकार्ड होल्डर समेत रहेका रौनियारले बेहुलीको पक्षबाट जन्तीलाई राम्रो स्वागत नगरेको र आफूले मागे बमोजिम दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने धम्की दिएका थिए ।

बेहुला पक्षबाट मागे जति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि पीडित पक्षले असार १२ गते प्रहरी वृत्त, मालीगाउँमा उजुरी दिएका थिए ।

विवाह खर्च भन्दै बेहुला पक्षले बेहुली पक्षबाट पटकपटक गरी २२ लाख रुपियाँ लगेको र अझै दाइजो नपाएको भन्दै बेहुलीलाई गाली, बेइज्जती र हातपात समेत गरेको एसपी रिजालले जानकारी दिनुभयो ।

घटनाबारे उजुरी दिएपछि प्रहरी वृत्त, मालीगाउँबाट प्रहरीको टोली काठमाडौँ महानगरपालिका-१, नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेस पुगेर बेहुलालाई गिरफ्तार गरेको थियो ।

रौनियारविरूद्ध जिल्ला अदालतबाट ०८० असार १२ गते विवाहमा दाइजो लिन नपाउने कसुरमा पाँच दिनको म्याद लिएर प्रहरी वृत्त, मालिगाउँले घटनाबारे अनुसन्धान गरिरहेको एसपी रिजालले बताउनु भयो ।

अन्य

भिडियो